
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा बंगलादेशमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १८ सय ७६ दशमलब ५ हुने प्रक्षेपण गरेको छ । दक्षिण एसियाली मुलुकहरूको तुलनामा यो निकै राम्रो आँकडा हो ।
बंगलादेशको कुल गार्हस्थ्य उत्पादन ३.८ प्रतिशतले बढ्ने देखाइएको छ । बंगलादेश बाहेक चीन र म्यान्मारको कुल गार्हस्थ्य उत्पादनको सकारात्मक अनुमान लगाइएको छ ।
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनले कुनै पनि देशमा प्रतिव्यक्तिको हिसाबमा आर्थिक उत्पादन कति हुन्छ भन्ने बताउँछ । देशको कुल गार्हस्थ्य उत्पादनलाई कुल जनसंख्यामा भाग गरेर यसको गणना गरिन्छ ।
थोरै जनसंख्या भएको देशमा यो आँकडा बढी हुन्छ ।
बंगलादेशको अर्थतन्त्र तीव्र गतिमा अघि बढिरहेको सत्य हो ।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि बंगलादेशले अनेकौं त्रासदी झेलेको छ । सन् १९७४ मा त्यहाँ भयानक अकाल, भयावह गरीबी, प्राकृतिक विपत आयो । अहिले म्यान्मारबाट लाखौं संख्यामा विस्थापित रोहिंग्याहरू बंगलादेशमा बसिरहेका छन् ।
बंगलादेशको जनसंख्या लगभग १७ करोड छ ।
उसको अर्थतन्त्रका दुईवटा क्षेत्रको ठूलो योगदान छ । पहिलो, कपडा उद्योग र दोस्रो रेमिटेन्स ।
उत्पादनको क्षेत्रमा बंगलादेशले तीव्र प्रगति गरिरहेको छ । लत्ताकपडा उद्योगमा बंगलादेशको नम्बर चीनपछि आउँछ । बंगलादेशमा बन्ने कपडाको निर्यात वार्षिक १५ देखि १७ प्रतिशतको दरमा बढिरहेको छ ।
सन् २०१८ को जुन महिनासम्म कपडाको निर्यात ३६.७ अर्ब डलरसम्म पुगेको थियो । सन् २०२१ मा बंगलादेशले ५०औं वर्षगाँठ मनाउँदा यो आँकडा ५० अर्ब डलरसम्म पुगोस् भनी प्रधानमन्त्री शेख हसीनाले लक्ष्य लिएकी छन् ।
बंगलादेशको अर्थतन्त्रमा विदेशमा काम गर्ने लगभग २५ लाख बंगलादेशीहरूको पनि ठूलो भूमिका छ । उनीहरूले पठाउने विप्रेषणमा वार्षिक रूपमा १८ प्रतिशतको वृद्धि भइरहेको छ । सन् २०१९ मा यो राशि बढेर १९ अर्ब डलर पुगेको छ ।
कोरोना महामारीले यी दुवै क्षेत्रमा नकारात्मक असर पारेको चाहिँ छ ।
विप्रेषणमा कमी आएको छ भने रेडीमेड कपडाहरूको निर्यात पनि घटेको छ । अनि बाढीले पनि कृषिलाई हानि पुर्याएको छ ।
बंगलादेशमा कपडाको सिलाइबुनाइको काम व्यापक रूपमा हुने गरेको छ । ठूलो संख्यामा महिलाहरू यसमा समावेश छन् । सन् २०१३ पछि स्वचालित यन्त्रहरू प्रयोग गरिँदैछ ।
बंगलादेशमा प्रधानमन्त्रीले भनेको कुरा सबैले मान्छन् । राजनीतिक विरोध हुने गरेको भए पनि अन्य कुनै विभाजन त्यहाँ छैन ।
महिलाहरूको सशक्तीकरण तीव्र गतिमा अघि बढिरहेको छ । लत्ताकपडा उद्योगमा महिलाहरू सक्रिय छन् । समाजमा महिलाहरूलाई अघि बढाइँदा राम्रो प्रगति हुन्छ ।
संसारभरि मेड इन बंगलादेश कपडाहरूको राम्रो पहिचान छ । बंगलादेश सरकारको सुशासनका कारण बंगलादेशले अन्य मुलुकसँग राम्रो व्यापार गर्न सकेको छ ।
बंगलादेश सरकारले शिक्षा, स्वास्थ्य र भोजनमा मनग्गे खर्च गर्ने गरेको छ । मानव विकास सूचकांकहरू हेर्दा थाहा हुन्छ ।
मानिसहरू र सरकारसँग खर्च गर्नका लागि कति पैसा छ भन्ने कुराले पनि जीडीपी निर्धारण गर्छ । सरकारले विभिन्न योजना चलाएर पानी, बिजुली, ग्रामीण बैंक लगायतका व्यवस्थामा कत्तिको ध्यान दिएको छ भन्ने कुरामा पनि कुल गार्हस्थ्य उत्पादन निर्भर रहन्छ ।
यस खर्चलाई बंगलादेश सरकारले आफ्नो खातामा देखाएकाले उसको कुल गार्हस्थ्य उत्पादन आँकडा राम्रो छ ।
कोरोनाकालमा पनि चीनबाट निस्केर १६ वटा जापानी कम्पनीहरूले बंगलादेशमा उद्योग खोलेका छन् । राजधानी ढाकाबाट ३० किलोमिटर पर होन्डा कम्पनीले हालै मात्र एउटा प्लान्ट बनाएको छ । अन्य देशहरू बंगलादेशसँग व्यापार गर्न इच्छुक छन् भन्ने कुरा यसैले देखाउँछ ।
स्थानीय कम्पनीहरूलाई भूमिपुत्र नाम दिइएको छ र उनीहरूलाई प्रोत्साहन गरिँदा व्यापक प्रवर्द्धन भइरहेको छ ।