
कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या गोलमाल देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांक नै बाझिएपछि कतै सरकारले मृतकको संख्या लुकाएको त होइन ? भन्ने प्रश्न जन्माएको छ ।
सेनाले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा कोरोनाबाट मृत्यु भएका ८८९ जनाको शव व्यवस्थापन गरिएको उल्लेख छ । जसमा हिन्दु धर्म मान्ने ३१६ जनाको शव गाडिएको, ४३० जनाको शव शव दाह गृहमा जलाइएको र ७१ जनाको शव चितामा जलाएको उल्लेख छ । यस्तै मुस्मिल धर्म मान्ने ३७ जनाको शव गाडिएको, बुद्धिस्ट १५ जनाको शव दाह गृह र १७ जनाको शव गाडिनुका साथै ३ जना क्रिश्चियन धर्म मान्नेको शव गाडिएको उल्लेख छ ।
जवकी नेपाल सरकारले भने शुक्रबारसम्म ७१५ जना कोरोना संक्रमितको मात्रै मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । सरकार र सेनाको तथ्यांकमा १७४ को फरक कसरी पर्यो ? यसबारे बुझ्न मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने आफ्नो संयन्त्रबाट संकलन गरेको तथ्यांक यही भएको जानकारी दिएका छन् ।
उनका अनुसार सुदूरपश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले ४१, मध्यपश्चिम पृतनाले ८५, पश्चिम पृतनाले १७, उपत्यका पृतनाले ४४४, मध्य पृतनाले १३९, मध्यपूर्वी पृतनाले ५४ र पूर्वी पृतनाले ९८ जनाको शव व्यवस्थापन गरेको छ । सरकारले विवरण सार्वजनिक गरेकोमा त कतिपयको त परिवारले नै अन्तिम संस्कार गरिसकेपछि मात्रै पनि संक्रमण पुष्टि भएको थियो । मृतकको संख्या बारे प्रश्न उठिसकेकाले यसबारे सरकारले कसरी स्पष्ट पार्छ त्यो भने हेर्न बाँकी नै छ ।