१२ असार २०८३, शुक्रबार

बाबुरामलाई प्रधानमन्‍त्री ओलीको जवाफ : 'जनतामा भ्रम नफैलाउनुस् '

कात्तिक १, २०७७
बाबुरामलाई प्रधानमन्‍त्री ओलीको जवाफ : 'जनतामा भ्रम नफैलाउनुस् '

 प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनाका सम्बन्धमा दिएको अभिव्यक्ति निराधार भएको बताएका छन्।

नेपाल प्रहरीको ६५ औँ प्रहरी दिवसमा अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूसहित अन्य पूर्वप्रधानमन्त्रीमाथि लगाएको आरोपमा सत्यता नभएको भन्दै खण्डन गरेका हुन्। 

नेपाल सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अगाडि बढेको उनले बताए। ‘हुन त केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु।’ ओलीले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको कार्यआरम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाएँ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु। यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार हुन्।’

नेकपा अध्यक्षसमेत रहेका ओलीले देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, गलत बाटोमा लाग्ने कुचेष्टा हर्कत नगर्ने बताए। ‘अभिव्यत्ति एउटा कुरा हो। तर, हामी त्यस्तो गैरजिम्मेवार अनुत्तरदायी हुन सक्दैनौँ।’ उनले भने,‘देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टाहरु, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं । हामी सत्य, निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौँ।’

उनले नेपाल सरकारले लिएको शून्य सहनशीलता अपराध विरुद्धको र भ्रष्टाचार विरुद्धको भएको स्पष्ट पारे। उनले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र यसको कार्यान्वयन अनुसन्धानका निकाय, शान्ति सुरक्षाका निकाय,  प्रहरीको भूमिका हुने धारणा राखे।

गोरखामा पुगेर भट्टराईले बहालवाला प्रधानमन्त्री ओली,पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'ले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए। 

यसअगाडि विज्ञप्ति सार्वजनिक गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी परियोजनामा अर्बौ रकम घुस लिएको भनी लगाएको आरोपको खण्डन गरेका थिए।  उनले यो आरोपलाई आधारहीन, झुठ, कपोकल्पित एवम् दूरासयपूर्ण रहेको बताएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्