
आफ्नै साथीको हत्या गरी फरार रहेका २ जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले शनिवार फरार रहेकाहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदी नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय भिमसेन घागा मगर र भिमफेदी नगरपालिकाकै वडा नम्बर ८का ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन् ।
उनीहरूलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाबाट शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैशाख २८, २०६६ मा उनीहरूले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १३ मा रहेको आरएम ईटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी वडा नम्बर ८ का ३६ वर्षीय डिल बहादुर योञ्जनलाई कोदालीको बिँडले हानेर तथा कुटपिट गरेर घाइते बनाएका थिए । गम्भीर घाइते योञ्जनको उपचारका क्रममा २०६६, बैशाख ३१ गते विर अस्पतालमा मृत्यु भएको थियो ।
त्यसपछि उनीहरू फरार भई भारतमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।