
धनुषा गोदारका लीलानाथ यादव (नाम परिवर्तन) कुष्ठरोगी हुन्। धनुषास्थित लालगढ अस्पतालमा नियमित उपचार गरिरहेका थिए ।
गत चैतदेखि प्रदेश–२ सरकारले लालगढ अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) का लागि क्वारेन्टाइन बनाएका कारण उनी अस्पताल जान सकेनन् । उनी कुष्ठरोगकै कारण अपाङ्ग छन्।
झापाका शैलेश सिंह (नाम परिवर्तन) कुष्ठरोग जटिल अवस्थामा पुगेपछि अस्पताल जानुभयो । त्यो बेला ज्वरो आउने समस्या देखियो । ज्वरो आउने समस्या भएपछि अस्पतालमा चिकित्सकले उपचार गर्न मानेनन् ।
२३ हजार रुपियाँ एम्बुलेन्सलाई तिरेर ललितपुर दक्षिणी भेगको आनन्द वन अस्पताल ल्याइयो । आनन्द वनको ल्याप्रोसी मिसन अस्पतालमा जटिल किसिमका कुष्ठरोगीको उपचार हुने गर्दछ । कोरोनाका कारण उनले पाएको दुुःखको सीमा छैन ।
सिंह र यादव जस्ता हजारौँ बिरामीलाई कोरोनाले उत्पन्न गरेको अवस्थाका कारण कुष्ठरोग उपचारमा समस्या भइरहेको छ । कुष्ठरोग लागेका व्यक्तिलाई नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । कोरोनाका कारण यातायात पूर्ण रूपमा बन्द हुँदा कतिपय बिरामीले नियमित औषधि सेवन गर्न पाएनन् । कतिपय जटिल अवस्थामा पुगेका बिरामी समस्या सामना गरेर बसिरहे ।
नेपालमा सन् २०१० मा कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ सङ्क्रमित देखिएका छन् ।
आर्थिक वर्ष २०७६÷७७ मा मात्र नेपालमा शूून्य दशमलव ९९ प्रतिशत प्रिभेलेन्स दर थियो । उक्त दर एक प्रतिशतमा पुग्ने बित्तिकै जनस्वास्थ्य समस्याका रूपमा लिइन्छ । त्यसो त सन् २०१० मा एक प्रतिशतभन्दा माथि भएका कुल जिल्ला १२ थिए भने हाल ती जिल्ला बढेर १८ पुगेका छन् । यसले नेपालमा कुष्ठरोग घट्नुको सट्टा झन् बढ्दैछ भन्ने प्रस्ट देखाउँछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा तीन हजार २१८ जना नयाँ कुष्ठरोगी देखिएका छन् ।
कुष्ठरोग शाखाका मेडिकल अधिकृत डा. उत्तम घिमिरेले २०२० सम्ममा अपाङ्गता शून्यमा झार्ने भनिए पनि २१८ जनामा अपाङ्गता देखिएको बताए। उनले पछिल्लो समय बालबालिकामा समेत कुष्ठरोग देखिएको जानकारी दिए। उनले कुष्ठरोगीले अवस्था हेरेर छ महिना, एक वर्ष र दुई वर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने जानकारी दिए । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।