
सरकारले सचिव एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । यसअघि उनी काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । निजामती सेवामा नर्भिक, इमान्दार र निर्णय क्षमताको सवालमा अग्रपंक्तिमा अर्यालको नाम लिने गरिन्छ ।
लामो समय गृह प्रशासनमा बिताएका अर्यालले काठमाडौं महानगरपालिकामा रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाएका थिए ।
अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता प्रमुख काम उनले महागरपालिकामा रहँदा गरे । साथै, काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माणको प्रक्रिया पनि अर्यालले अन्तिम चरणमा पुर्याएका थिए ।
सचिव हुनुअघि अर्याल भारतको कोलकत्तामा महावाणिज्यदूत थिए । महावाणिज्यदूत छँदा उनले शुरू गराएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको चौतर्फी प्रशंसा भएको थियो । कोभिड महामारीमा उनले शुरू गराएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम झनै महत्त्वपूर्ण सावित भएको अधिकारीहरू बताउँछन् ।
अर्याल गृह मन्त्रालयमातहत रहेर लामो समय सेवा गरेका व्यक्ति हुन् । उनले आफ्नो करियरको धेरै समय गृह प्रशासनमा बिताए । जहाँ–जहाँ सीडीओ भएर गए त्यहाँ अर्यालले केही न केही सुधार र सकरात्मक परिवर्तनका काम गरेका थिए । गृह प्रशासन बुझेको अनुभवी थोरै कर्मचारीमा अर्याल पर्छन् ।
२०७२ सालको भूकम्पका बेला उनी काठमाडौंको सीडीओ थिए । भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि मुद्दा चलाए ।
व्यापक दबाबका बावजुद कालोबजारीमा संलग्न उच्च घरानाका व्यापारीमाथि कारवाही अघि बढाएपछि अर्यालको प्रशंसा चुलिएको थियो ।
अर्याल अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमता भएका निर्भिक एवं इमान्दार प्रशासकका रूपमा परिचित छन् ।