न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नको लेबर पार्टीले शनिवार सम्पन्न आमनिर्वाचनमा प्रचण्ड बहुमत ल्याएपछि उनले भन्ने गरेको आमूल परिवर्तन ल्याउनका लागि थप तीन वर्ष पाएकी छन् । तर उनले गर्न सक्ने कामलाई कोभिड–१९ महामारीले सीमित तुल्याएको छ ।
आर्डर्नले कठोर लकडाउन लगाएर देशमा कोरोनाभाइरस निर्मूल पार्न सफल भइन् र त्यसैले उनलाई निर्वाचनमा विजयी बनायो । तर यही तरिकाले न्युजील्यान्डवासीहरूको पुनरुत्थान आशामा बाधा पुर्याउन सक्छ र आर्डर्नको प्रगतिशील नीतिलाई पनि अवरोध गर्न सक्छ ।
आमनिर्वाचन भुइँचालो ल्याउने खालको भव्य थियो र अब आर्डर्नले वाचा पूरा गर्नुपर्नेछ, मासी विश्वविद्यालयमा राजनीतिका प्राध्यापक रिचर्ड शले बताए ।
विगत ५० वर्षमा लेबर पार्टीका लागि सबभन्दा ठूलो विजय दिलाएको केही घन्टापछि नै आर्डर्नले महामारी व्यवस्थापनमा खटिनुपरेको थियो । देशमा नयाँ संक्रमणहरू देखिन थालेका छन् ।
न्युजील्यान्डमा सामुदायिक संक्रमणहरू विगत १०० दिनदेखि देखिएका छैनन् । तर अगस्ट महिनामा अकल्यान्डमा नयाँ संक्रमण देखिए ।
अहिले देखिएका केसहरू थप फैलिने सम्भावना नरहेको स्वास्थ्य अधिकारीहरू बताउँछन् । तर देशमा महामारीलाई निमिट्यान्न पार्ने प्रयासमा थुप्रै जोखिमहरू रहेको भन्ने कुरा यसले उजागर गरेको छ ।
आर्डर्नले कोभिड–१९ पुनरुत्थानका लागि ६ करोड २० लाख न्युजील्यान्ड डलर छुट्ट्याएकी छन् । कसैले रोजगारी नगुमाऊन् भनी तलब दिनका लागि यसमध्ये अधिकांश रकम छुट्ट्याइएको छ । उनले व्यापारका लागि ऋण दिने र भाडा नलिने उपायका साथै करछुटका समेत घोषणा गरेकी छन् ।
तर करमा व्यापक सुधारका विषयमा कुनै योजना बनेको छैन । अनि न्युजील्यान्डमा सबभन्दा बढी राजस्व उत्पन्न गर्ने पर्यटन र आप्रवासनमा छाएको संकट निवारणका लागि पनि कुनै उपाय ल्याइएको छैन । त्यसैले सरकारले सामाजिक र आर्थिक लक्ष्य कसरी हासिल गर्छ भन्ने विषयमा प्रश्न उठेका छन् ।
‘कोभिड व्यवस्थापनभन्दा बाहिर विशाल रकम छैन,’ ब्राड ओल्सेनले बताए । उनी राजधानी वेलिङटनमा रहेको संस्था इन्फोमेट्रिक्सका वरिष्ठ अर्थशास्त्री हुन् ।
‘त्यसैले कुन विषयले प्राथमिकता लिन्छन् र कोभिड व्यवस्थापन सँगसँगै तिनले कसरी आमूल परिवर्तन ल्याउँछन् भनी आश्चर्य मान्नुपर्ने हुन्छ,’ उनले भने ।
सन् २०२४ सम्ममा देशको ऋण २० अर्ब १० करोड न्युजील्यान्ड डलरको पूर्वानुमान गरिएको छ जुन कुल गार्हस्थ्य उत्पादनको ५५ प्रतिशत हुन आउँछ ।
कोभिड फैलिन नदिन लगाइएका लकडाउनहरूले आर्थिक कारोबार ठप्प पारे । आगामी दुई वर्षमा बेरोजगारी लगभग ८ प्रतिशतले बढ्ने अपेक्षा छ ।
मतदाताहरू सरकारले खर्चकटौती नगरोस् भन्ने इच्छा राख्छन्, ओल्सेन भन्छन् ।
आर्डर्न सर्वसुलभ आवास बनाउन, न्यूनतम तलब बढाउन तथा वातावरणमैत्री परियोजनाहरूमा हजारौं रोजगारी जन्माउन चाहन्छिन् ।
बाल गरीबी तथा घरबारविहीनताका मुद्दामा न्युजील्यान्डको प्रदर्शन विकसित मुलुकहरूमध्येमा सबभन्दा खराब छ । आर्डर्नले विद्यालयमा निःशुल्क दिवा खाना र पहिलो घर किन्नका लागि सहयोग जस्ता उपायहरू आरम्भ गरेकी छन् ।
आफ्नो पहिलो कार्यकालमा यी लक्ष्यहरू हासिल गर्न असम्भव रहेको उनले तर्क गरेकी थिइन् र मतदाताहरूलाई सार्थक परिवर्तनका लागि पूर्ण कार्यकाल दिलाउन अनुरोध गरेकी थिइन् ।
‘यस परिणामपछि हामीले कोरोना व्यवस्थापन र पुनरुत्थानको अधिकार पाएका छौं र भोलिबाटै हामी यसलाई शुरू गर्नेछौैं,’ उनले मतदाताहरूसँग प्रतिज्ञा गरिन् ।
संकटका बेलामा छाएको अनिश्चिततामा सहानुभूतिशील नेतृत्व अपनाएर न्युजील्यान्डवासीहरूलाई एकत्रित गर्नु आर्डर्नको सबभन्दा ठूलो सफलता हो ।
रोयटर्सबाट