
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले संसदीय दलबाटै निर्णय गराएर संघीय संसदका सदस्यले दशैं भत्ता नलिने व्यवस्था गराउन माग गरेकी छिन् । मन्त्रिपरिषद्को गत वर्षको निर्णयमा टेकेर सांसदहरुले दशैं भत्ता लिएको समाचार पहिलो पटक लोकान्तर डटकममा प्रकाशित भएपछि आइतवार केही सांसदले दशैं भत्ता फिर्ता गरिसकेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रतिनिधि सभा सदस्य झाँक्रीले दशैं भत्ताको रकम कोरोना रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने व्यबस्था गर्न माग गरेकी हुन् ।
‘महामारीको कारण मुलुकको आर्थिक अबस्था गम्भीर बन्दै गएकोले यस वर्षको दशैं खर्च संघीय संसदका सदस्यले नलिने व्यवस्था गर्न संसदीय दलले नै निर्णय गरेर उक्त रकम सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गराउने ब्यवस्था गर्नुहुन अनुरोध गर्दछु’ झाँक्रीले ट्वीटरमा लेखेकी छिन् ।
कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले पनि संसदीय दलबाट निर्णय गराएर कांग्रेसका सबै सांसदको रकम फिर्ताको निर्णय गराउन प्रस्ताव गरेका छन् ।
लोकान्तर समाचार प्रभावस्वरुप आइतवार राष्टिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपा सांसद भीम रावल, सूर्य पाठक, कांग्रेसका बालकृष्ण खाण र गगन थापाले दशैं भत्ता फिर्ता गरिसकेका छन् ।