
बुटवल वडा नम्बर ८ को कार्यालयमा कार्यरत नायव सुब्बा नारायण ज्ञवालीको कोरोना संक्रमणबाट निधन भएको छ ।
४९ वर्षीय ज्ञवाली संक्रमण भएर घरमै आइसोलेसन बसेका थिए । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्याउँदा भेन्टिलेटर नपाएपछि उनको निधन भएको थियो ।
उपमहानगरपालिकाको कार्यालय परिसरमा आइतबार बिहान शोक मनाउँदै श्रद्धाञ्जली सभा गरिएको थियो । उपमहानगरपालिकाको सोमबारदेखि अत्यावश्यक काम बाहेक अन्य सेवा बन्द गर्ने निर्णय समेत गरेको छ । प्रमुख सुवेदीले उपमहानगरका स्वास्थ्यकर्मीलाई जनस्वास्थ्यको विषयमा जिम्मेवार बन्न आग्रह गर्दै सुरक्षा सावधानी अपनाएर सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।
कर्मचारी एसोसिएसन उपमहानगर कमिटीको आयोजनामा गरिएको शोक सभामा दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रमुख सुवेदीले जनस्वास्थ्यको विषयमा आफूहरु संवेदनशील रहेको बताए ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा, प्रवक्ता रामप्रसाद रेग्मी, कर्मचारी एशोसिएसनका अध्यक्ष ठगीश्वर पोखरेल, तथा महाशाखा प्रमुख र कर्मचारीहरुले स्व. ज्ञवालीको तश्विरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।