तिब्बती सैनिकहरू रहेको गोप्य भारतीय सैन्य इकाइको पहिचान खुलेसँगै भारतको तिब्बत कार्डको बारेमा संसारले थाहा पाएको छ ।
अगस्ट २९ मा चिनियाँ सैनिकहरूसँग भएको भिडन्तमा दिवंगत भएका नीमा तेन्जिङ स्पेसल फ्रन्टियर फोर्सका एक सैनिक थिए । उनलाई तिब्बती तथा भारतीय झण्डा ओढाएर सैन्य सम्मानका साथ अन्त्येष्टि गरियो ।
अन्त्येष्टि समारोह भारतभरि टीभीमार्फत प्रसारण गरियो । सन् १९५० मा चीनले आक्रमण गरेर तिब्बतमा आधिपत्य कायम गरेपछि भारतमा निर्वासित भएका तिब्बतीहरूका पछिल्ला पुस्ताले भारतको स्पेसल फ्रन्टियर फोर्स जस्ता सीमा इकाइहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
यस घटनामार्फत भारतले तिब्बतमा चीनको सार्वभौमसत्तामाथि प्रश्न उठाएको छ । तेन्जिङको अन्त्येष्टि समारोहलाई सार्वजनिक गर्नु भनेको तिब्बत नीतिमा आएको परिवर्तन हो कि चीनसँग अहिले लद्दाखमा भइरहेको सैन्य गतिरोध हिमालयका अन्य क्षेत्रमा पनि फैलिँदैछ भन्ने संकेत दिन खोजिएको हो भन्ने कुरा भारत सरकारले स्पष्ट पारेन ।
गुप्तचर संस्था रअका सेवानिवृत्त अधिकारी जयदेव रानाडे भन्छन्, ‘स्पेसल फ्रन्टियर फोर्सलाई पहिचान दिएर भारतले चीनलाई सन्देश दिन खोजेको हो, हेर तिम्रा देशवासीहरू हामीसँग मिलेर लड्दैछन् भन्ने सन्देश ।’
‘यस सुरक्षाफौजलाई यसअघि यसरी पहिचान दिइएको मलाई याद छैन,’ रानाडेले भने । उनी नयाँ दिल्लीमा रहेको सेन्टर अफ चाइना एनलासिस यान्ड स्ट्राटेजी नामक अनुसन्धानमूलक संस्थाका प्रमुख हुन् ।
भारत गोप्य स्पेसल फ्रन्टियर फोर्स तथा त्यसमा कुन जातीय समूहका मानिस छन् भन्ने विषयमा मौन रहिआएको छ । तर फोर्स भारतको गुप्तचर संस्था रअको एक अंग हो । तर सेनासँग तैनाथ रहँदा यसले सेनाको नियन्त्रणमा कारवाही चलाउनुपर्ने हुन्छ । सेनाले चाहिँ यससँगको सम्बन्ध गोप्य नै राख्न चाहेको छ ।
अमेरिकाको स्पेसल फोर्सेस जस्तै यसका प्रत्येक सदस्यलाई पाराकमान्डो तालिम दिइन्छ र यो भारतीय सेनासँग मिलेर गोप्य कारवाही चलाउँछ ।
अमेरिकी गुप्तचर संस्था सीआईएले तिब्बती शरणार्थीहरूलाई भारतको विशेष फौज बनाउन तालिम दिएको थियो र तिनीहरू नै अहिलेको स्पेसल फ्रन्टियर फोर्सका अग्रज हुन् ।
एक लाखभन्दा बढी तिब्बतीहरू भारतका विभिन्न स्थानमा स्वतन्त्रतापूर्वक बसिरहेका छन् । चीनको स्वायत्त तिब्बत क्षेत्रमा बस्ने तिब्बतीहरूको जीवन र जीवनयापनमा राज्यको कठोर नियन्त्रण छ ।
दशकौंदेखि भारतीय नेताहरूले तिब्बतको समर्थन गरेको सार्वजनिक रूपमा नदेखाउने गरेका थिए यद्यपि भारतले तिब्बतका आध्यात्मिक नेता दलाई लामालाई ६० वर्षभन्दा बढी समयदेखि शरण दिइराखेको छ ।
चीनले दलाई लामालाई राज्यको शत्रु मान्ने गरेको छ । उनी चीनविरुद्ध अहिंस्रक आन्दोलनका पक्षधर हुन् । तर चीनसँग नयाँ शीतयुद्ध शुरू भइरहेको सन्दर्भमा अमेरिकाले तिब्बतलाई भरपूर समर्थन दिइरहेको छ र यसले कतै तिब्बतको शान्तिपूर्ण प्रतिरोध कठोर बन्दै जाने त हैन भन्ने आशंका उत्पन्न गरेको छ ।
आगामी दलाई लामा छनोट भएपछि तिब्बतीहरूको शान्तिपूर्ण संघर्षमा परिवर्तन आउने विश्लेषकहरूको कथन छ । चीनले दलाई लामाको उत्तराधिकारी आफैं छान्ने अपेक्षा गरिएको छ । भारतको धर्मशालामा वर्षौसम्म रहेका दलाई लामाले बेइजिङको उम्मेदवार अवैध हुने बताइसकेका छन् । तिब्बतको नयाँ प्रतिरोधलाई समर्थन गर्ने भौगोलिक तथा रणनीतिक रूपमा महत्त्वपूर्ण माध्यम भारत हुनेछ ।
चीनले दमन बढाउँदै जाँदा अनि तिब्बती–बौद्ध संस्कृतिलाई जबर्जस्ती चिनियाँकरण गर्दै जाँदा तिब्बतीहरूको असन्तुष्टि बढेको सेन्ट्रल टिबेटन एडमिनिस्ट्रेसनका अध्यक्ष लोब्साङ सांगे बताउँछन् ।
तिब्बतको स्थिरतामै चीनको स्थिरता अडिएको चिनियाँ राष्ट्रपति सी चिनफिङको कथन छ । सन् २००८ मा चीनको सेन्ट्रल मिलिटरी कमिसनले तिब्बतलाई आफ्नो सबभन्दा महत्त्वपूर्ण सार्वभौमिकताको चुनौती भनेको थियो । सिनजियाङ र ताइवान भन्दा पनि महत्त्वपूर्ण उसले तिब्बतलाई मानेको सांगेको कथन छ ।
भारतले तिब्बत कार्ड कसरी खेल्ला भन्ने स्पष्ट छैन तर तिब्बतको उच्चारणलाई समेत प्रतिबन्धित बनाइएको स्थिति अहिले छैन । बेइजिङलाई नचिढ्याउने नीति अँगालेर तिब्बतको कुरा नगर्ने दिल्लीले अब तिब्बती स्वायत्तता र लोकतन्त्रका आह्वानलाई पश्चिमले जस्तै समर्थन गर्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् ।
वर्षौंसम्म प्रयोग नगरेको तिब्बत कार्ड अब खेल्ने भनी भारतले चीनलाई दिइरहेको संकेत एक रणनीतिक सम्भाव्यता बनेको छ ।
हिन्दुस्तान टाइम्समा प्रकाशित शिशिर गुप्ताको विश्लेषण