
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको छ ।
मंगलवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको हो ।
धनगढी उपमहानगरपालिका–१० का ३१ वर्षीय पंकु भनिने रोहित राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २० वर्षीय राजेन्द्र राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालाई प्रहरीले सार्वजनिक गरेको हो ।
अभियुक्तहरूले नेपालबाट भारततिर सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि घाटी रेटेरै हत्या गरेको स्वीकार गरेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए ।
अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको उनले पुष्टि गरे । गत शनिवार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज समेत रहेका विक र प्रहरी जवान बेपत्ता भएका थिए ।
खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक विकको शव आइतवार बिहान धनगढी उपमहानगरपालिका–१० को नेपाल–भारत सीमास्थित मोहना नदीमा भेटिएको थियो । विकको शव भेटिएकै मोहना नदी क्षेत्रमा मंगलवार प्रहरी जवान साउँदको शव फेला परेको थियो ।