
नाइजेरियाको सबभन्दा ठूलो शहर लेगोसमा प्रहरी ज्यादतीविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरूमाथि सुरक्षाकर्मीहरूले गोली चलाएका छन् ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, सैनिकहरूले गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । एम्नेस्टी इन्टरनेसनलले मृत्युको विश्वसनीय खबर पाएको बताएको छ ।
सेनाले यी खबरहरूको खण्डन गरेको छ । अधिकारीहरूले अनुसन्धानको वाचा गरेका छन् ।
लेगोस र अन्य क्षेत्रमा २४ घन्टाको कर्फ्यु घोषणा गरिएको छ ।
बुधवार प्रदर्शनकारीहरूको एक समूहले कर्फ्यु अवज्ञा गर्दै लेक्की टोल प्लाजामा भेला हुँदा सेनाले गोली चलाएको थियो ।
अहिले भंग गरिएको स्पेसल एन्टी–रबरी स्क्वाड (सार्स) को विरोधमा दुई हप्तादेखि प्रदर्शन हुँदै आएको छ । उक्त इकाइले डकैती र लुटपाट रोक्ने नाममा सर्वसाधारणहरूलाई सताउने, कुटपिट गर्ने र पैसा धुत्ने गरेको आरोप छ ।
विरोधकर्ताहरूले सामाजिक सञ्जालमा ह्याशट्याग एन्डसार्स प्रयोग गरेर भीड बोलाइरहेका छन् ।
म्यानचेस्टर युनाइटेडका लागि खेल्ने नाइजेरियाली फूटबलर ओडियोन जुड इगालोले नागरिकहरूलाई नाइजेरियाली सरकारले मारिरहेको आरोप लगाए । ‘मलाई यस सरकारसँग लाज लागेको छ,’ ट्विटरमा भिडियो पोस्ट गर्दै उनले बताए ।
बर्दीमा रहेका मानिसहरूले लेक्की टोल गेटमा मंगलवार साँझ गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताए ।