अमेरिका र रुसबीच हतियार नियन्त्रण सम्झौतालाई एक वर्ष थपिएको छ ।
दुवै देशले यस प्रस्तावलाई स्वीकार गर्नका लागि अनुमति दिइसकेका छन् ।
रुसले मंगलवार आणविक हतियारको संख्या अहिलेकै सीमामा राख्न तयार रहेको बताएको थियो । अनि हतियार नियन्त्रण सम्झौतालाई थप एक वर्ष बढाउने अमेरिकाको प्रस्ताव पनि स्वीकार गर्न तयार रहेको बताएको थियो ।
हतियार नियन्त्रण सन्धि स्टार्टमा सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र तत्कालीन रुसी राष्ट्रपति दिमित्री मेदभेदेभबीच हस्ताक्षर भएको थियो ।
यस सन्धिले प्रत्येक देशलाई १५ सय ५० आणविक हतियार र ७०० क्षेप्यास्त्र भन्दा बढी तैनाथ गर्न दिँदैन । यसको पालना भइरहेको छ कि छैन भनी निगरानी पनि गर्ने गरिएको छ ।
अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले रुसको प्रस्तावलाई स्वागत गरे । अमेरिका यस सम्झौतालाई छिट्टै लागू गर्न तयार रहेको उनले बताए ।
आणविक हतियार नियन्त्रणको सवालमा प्रगति भएकोमा रुसको सराहना गर्ने उनले बताए । रुससँग चाँडै यसको सत्यापनका लागि भेट्ने पनि उनले जानकारी दिए ।
अमेरिका र रुस दुवैसँग टन्नै आणविक हतियारहरू भए पनि अमेरिकाभन्दा रुससँग बढी यस्ता हतियार छन् ।