०९ असार २०८३, मंगलबार

अक्सिजन थेरापीले संक्रमित छिट्टै निको हुन्छन् : विज्ञ

कात्तिक ६, २०७७
अक्सिजन थेरापीले संक्रमित छिट्टै निको हुन्छन् : विज्ञ

बेलैमा गरिने अक्सिजन थेरापीले लक्षणसहितका कोराना संक्रमित निको हुने दर बढ्ने विज्ञहरूले बताएका छन् । उपयुक्त मात्राको अक्सिजन थेरापीले मृत्युदरमा उल्लेख्य कमी आउने उनीहरूको भनाइ छ ।

कोरोनाका मध्यम र गम्भीर बिरामीको उपचार एवं ‘क्लिनिकल म्यानेजमेन्ट’ मा अक्सिजन थेरापी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूले मुलुकभरका स्वास्थ्य केन्द्रमा अक्सिजन पर्याप्त हुनु अत्यावश्यक भइसकेको बताएका छन् ।

पछिल्लो समयमा अक्सिजन कमी भएर ३० देखि ६० वर्षसम्म उमेर समूहका संक्रमित सबैभन्दा बढी प्रभावित भएका छन् । ‘अहिले हामीकहाँ भएका (१ सय २० जना) बिरामीमध्ये ८० प्रतिशतलाई बाहिरबाट अक्सिजन दिन आवश्यक छ । अक्सिजन कम भएर सास फेर्न गाह्रो हुने गरेको हो,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले भने, ‘उनीहरूलाई उपयुक्त रूपमा अक्सिजन दिएर उपचार थाल्यौं भने छिट्टै निको हुन्छन् ।’
 

विज्ञहरूका अनुसार संक्रमण भइसकेपछि व्यक्तिको शरीरमा अक्सिजनको स्तरमा तीव्र गतिले कमी हुँदै जान्छ । त्यस्तै कोरोनाले निमोनिया भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीको संख्या बढिरहेको छ । अक्सिजनको कमीले बिरामीको मृत्युसमेत भइरहेको छ । अक्सिजन थेरापीबाट बिरामीलाई अतिरिक्त (पूरक) अक्सिजन दिइन्छ । कोरोनाका लक्षणसहितका बिरामीमध्ये ७० देखि ८० प्रतिशतलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । हाल काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा बिरामीको आवश्यकताअनुसार अक्सिजनसहितका शय्या अभाव रहेको चिकित्सकहरूको भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालले अक्सिजनसहितको शय्याका लागि आउने २०–२५ कोभिड–१९ का बिरामीलाई हरेक दिन फर्काउनुपरेको जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले पनि अस्पताल आउने अधिकांश संक्रमितलाई अतिरिक्त अक्सिजन आवश्यक देखिएको बताए । ‘कोरोनाको मुख्य उपाय वा औषधि नै अक्सिजन थेरापी हो । बिरामीको गम्भीरताअनुसार कति मात्रामा अक्सिजन दिने भन्ने कुरा निर्धारित हुन्छ,’ उनले भने ।

शिक्षण अस्पतालका डा. दासले कोरोनाका उपचारमा हालसम्म मुख्य रूपमा अक्सिजन थेरापी र डेक्सोना नै प्रभावकारी देखिएको बताए । त्रिवि शिक्षण अस्पतालमा हालसम्म मध्यम र कडा संक्रमण भएका ६ सय ५० जनाभन्दा बढीको उपचार गरिएकामा अक्सिजन थेरापीको राम्रो नतिजा देखिएको चिकित्सकहरूले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्