झण्डै २१ घण्टा राजधानी काठमाडौंमा बिताएर भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल स्वदेश फर्किएका छन् ।
बुधवार दिउँसो भारतीय सेनाको विशेष विमानमार्फत काठमाडौं उत्रिएका गोलय बिहीवार बिहान सवा १० बजे दिल्ली फर्किएका हुन् ।
कालापानी सीमा विवादलाई लिएर नेपाल र भारतबीच सम्बन्ध चिसिएको बेला भारतीय गुप्तचर प्रमुखको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
नेपालमा रहँदा उनले केही महत्त्वपूर्ण भेटघाट गरेका थिए । तर कसकसलाई भेटेको भन्ने खुलेको छैन ।
उनी काठमाडौं ओर्लिएको र स्वदेश फिर्ता भएको पुष्टि गरे पनि सुरक्षा स्रोतले उनको भ्रमण कार्यक्रमबारे केही खुलाउन चाहेन । ‘द प्रिन्ट’ भारतीय अनलाइन पत्रिकाले नेपाल–भारत सीमा विवाद तथा नेपालको सत्तारुढ दल नेकपाभित्र विवाद बढेको समयमा गोलयको भ्रमण भएको लेखेको छ ।
राजनीतिक दलका शीर्ष नेतालाई नभेटे पनि तिनका सम्पर्क सुत्रसँग भेटेको हुनसक्ने सुरक्षा स्रोत बतायो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले ‘रअ’ प्रमुखसँग भेट गरेको भन्ने समाचारको खण्डन गरेको छ ।