दोलखा, २८ बैशाख गौरीशंकर गाउँपालिका–२ जुँगुमा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको छ । उनी एमालेका वडा सदस्य उम्मेदवार गोरे तमाङका छोरा हुन् ।

चुनावी अभियान सकेर फर्कंदै गरेका माओवादी र एमाले कार्यकर्ताबीच मंगलबार राति जुँगु–२ रेशमडाँडामा झडप हुँदा तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार जुँगुको कसेरी गाउँबाट रेशमडाँडा आउँदै गरेका माओवादी कार्यकर्ताले स्थानीय लक्ष्मण जिरेलको होटेलअगाडि मोटरसाइकल सडकमा राखेर अवरोध गरेको आरोप लगाउँदै एमाले कार्यकर्तासँग विवाद भएको थियो । विवाद बढ्दै जाँदा दुई पक्षबीच झडप भएको थियो ।
एमालेले भने खाना खाइरहेका आफ्ना कार्यकर्तामाथि एकतर्फी आक्रमण गरिएको दाबी गरेको छ । मृतकका परिवारले माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री देवी खड्का, जिल्ला नेता विशाल खड्कासहित ३९ जनाविरुद्ध ज्यान मार्ने अभियोगमा किटानी जोहरी दिएका छन्, नयाँ पत्रिकामा खबर छ ।