१६ असार २०८३, मंगलबार

काठमाडौंमा फेरि चिनियाँ गिरोह सक्रिय : अवैध 'अनलाइन गेम'देखि इन्टरनेट अपराधसम्मका धन्दा !

कात्तिक ७, २०७७
काठमाडौंमा फेरि चिनियाँ गिरोह सक्रिय : अवैध 'अनलाइन गेम'देखि इन्टरनेट अपराधसम्मका धन्दा !

काठमाडौंसहित देशका मुख्य शहरमा फेरि केही चिनियाँ टोली इन्टरनेटमार्फत अवैध गतिविधिमा संलग्न रहेको पाइएको छ । स्रोतका अनुसार टोली अवैध ‘अनलाइन गेम’ खेलाउनेदेखि विभिन्न इन्टरनेट अपराधमा संलग्न छन् ।

चीनबाट पर्यटक भिसामा नेपाल आएर उपत्यकालगायत देशमा विभिन्न ठाउँमा समूह बनाई अनलाइन गेम खेलाउने तथा इन्टरनेट अपराधमा संलग्न रहेको पाइएको छ ।

काठमाडौं उपत्यकाको बौद्ध क्षेत्रमा ५ वटा समूह, चक्रपथ क्षेत्रमा २ वटा समूह, कलंकी क्षेत्रमा केही समूहले अनलाइन गेम खेलाउँदै आएको प्रहरी स्रोतले लोकान्तरलाई बतायो । 

यस्तै चितवन, पोखरा लगायतका देशका मुख्य शहरमा पनि यस्तो टोली सक्रिय रहेको प्रहरी स्रोतको दाबी छ ।

स्रोतका अनुसार काठमाडौंका अलिक राम्रा घर/फ्ल्याट भाडामा लिएर ४ देखि २० जनाको समूह बनाएर अवैधरूपमा गतिविधि चलाइरहेका छन् ।

‘पछिल्लो समय अनलाइन गेम खेलाउने समूह अति नै सक्रिय देखिएको छ,’ एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘उनीहरूलाई हामीले रेकी गरिरहेका छौं ।’

उपत्यकाको प्रहरीलाई कुन–कुन ठाउँमा गेम खेलाइरहेको छ भन्ने पूर्ण सूचना छ । प्रहरीका अनुसार उनीहरूले हप्ता–हप्तामा ठाउँ परिर्वतन गरिरहन्छन् । 

प्रहरीले केही सक्रियता बढाएको खण्डमा उनीहरूले त्यो ठाउँ परिर्वतन गर्छन् । कतिपयले ग्रुपले प्रहरीलाई आर्थिक प्रलोभनमा समेत पार्न खोज्ने गरेका छन् । प्रहरीले कुनै समूहलाई रेकी गरेको सूचना नेपालका उच्च प्रहरी अधिकारीसहित राजनीतिक दलका नेता र राजदूतावाससम्म पुग्ने गरेको एक प्रहरी अधिकृतले लोकान्तरसँग बताए ।

‘उनीहरूको पहुँच यति माथिसम्म छ कि हामीले उनीहरूको ठाउँमा रेकी गर्‍यौं भने सूचना दूतावासदेखि राजनीतिको माथिल्लो निकायसम्म पुग्छ,’ ती अधिकृतले भने ।

चिनियाँहरूको गतिविधिलाई निगरानी गरिरहेका एक प्रहरी अधिकृतका अनुसार माथिल्लो निकायलाई पनि यसको जानकारी छ । तर एक्सनमा जानका लागि आदेश आउँदैन ।

प्रहरीका एक उच्च अधिकारीले भने– ‘हामीले आईजी (प्रहरी महानिरीक्षक) सा’बलाई पनि जाहेर गरेका छौं तर माथिबाट केही नगर्नू भन्ने आदेश आउँछ । हामीले कसरी कारवाही प्रक्रिया बढाउने ?’

‘माथिको आदेश आउने हो भने हामीले एकैचोटि ती समूहलाई कर्‍यापझ्याप पार्थ्यौं,’ ती अधिकृतले थपे ।

प्रहरी अधिकारीहरूको भनाइलाई आधार मान्ने हो भने उपत्यकालगायत देशभरमा २ सय जना चिनियाँले समूह बनाएर अवैध अनलाइन गेम खेलाइरहेका छन् ।

उनीहरूको पहुँच माथिसम्म रहेको कुरा अनुसन्धानमा खटिएका प्रहरी अधिकृत र उच्च अधिकृतले आदेश माग्दा समेत कारवाही गर्न नपाउनुले पुष्टि गर्छ ।

प्रहरीले २०७६ साल पुस ९ गते काठमाडौंको तारकेश्वर नगरपालिका– १ मनमैजुमा रहेको आलिशान घरमा उच्च प्रविधि र सुरक्षासहित बसेका १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

त्यो बेलामा प्रहरीले ‘चार्ली फोक्सर’ नामको अपरेसन चलाएको थियो । 

नेपालमा ६ देखि ३ हजारसम्म चिनियाँ नागरिकहरू इन्टरनेटमार्फत् अपराधमा संलग्न रहेको तथ्यांक प्रहरीसँग छ, तर अहिलेसम्म उनीहरू कानूनको दायरामा आउन सकेका छैनन् ।

चिलीको स्यान्टियागोमा ९४ देशका प्रहरीहरूको संगठन इन्टरपोलको ८८ औं महासभा भइरहेको समयमा चीनको इन्टरपोल शाखा एनसीबी बेइजिङका प्रमुख र नेपाल इन्टरपोलको शाखा एनसीबी काठमाडौंका तत्कालीन प्रमुख सर्वेन्द्र खनालबीच भेट भएको थियो ।

भेटमा एनसीबी बेइजिङका प्रमुखले नेपालमा बसेर चीनका नागरिकहरूले चीनकै विरुद्धमा इन्टरनेटमार्फत अपराध गरिरहको जानकारी दिएपछि प्रहरीले पक्राउ गरेको जानकारी दिएको थियो ।

पक्राउ परेका चिनियाँ नागरिकबाट प्रहरीले ठूलो संख्यामा मोबाइल र ल्यापटप बरामद गरेको थियो ।

प्रहरीले त्यो समयमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ७ सय ४७ मोबाइल र ३३१ ल्यापटप बरामद भएको जानकारी दिएको थियो ।

यस्तै ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३२७ सीमकार्ड बरामद गरेका थियो ।

पक्राउ परेका चिनियाँ नागरिकबाट ६७ राहदानी पनि बरामद गरेको थियो ।

प्रहरीले राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्