काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं बिदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ ।
धेरैजसो पीसीआर ल्याबहरू दशैंका कारण शुक्रवारबाट बन्द भएको भएपनि केएमसीले भने दशैंको बिदामा पनि कोरोना परीक्षण जारी राखेको हो ।
कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुने भएकाले दशैं बिदामा पनि चाैबीसै घण्टा पीसीआर ल्याब खुला गर्ने व्यवस्था मिलाइएको काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा. सुनिल शर्माले बताए ।
‘अहिले जटिल अवस्था भएकाले दशैं बिदामा पनि पीसीआर परीक्षण नियमित गर्ने व्यवस्था मिलाएका छौं,’ डा.शर्माले भने, ‘२४ सैं घण्टा हाम्रो ल्याब खुला हुन्छ । अहिले पनि धमाधम पीसीआर परीक्षण भइरहेको छ ।’
केएमसीको सिनामंगल र दुवाकोटका दुवै अस्पतालबाट स्वाब संकलन गरेर १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण हुँदै आएको छ ।
गत असार १४ गतेबाट पीसीआर परीक्षण थालेको केएमसीले हालसम्म ३२ हजार भन्दा बढी स्वाब परीक्षण गरिसकेको छ ।