काठमाडौं, २८ वैशाख — स्थानीय निर्वाचन आउन तीन दिन बाँकी रहदा काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवारहरु प्रचारको चटारोमा छन् । आज राति १२ बजेपछि मौन अवधी सुरु हुने भएपछि नेताहरु आज प्रचारको अन्तिम दिन निकै तीब्र गतीमा कुँदिरहेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरको रुपमादेखिका मुख्य ६ जना उम्मेदवारहरु चुनावी चर्चामा छन् । कांग्रेसका राजुराज जोशी, एमालेका विद्यासुन्दर शाक्य, माओवादी केन्द्रका सर्वोत्तममान डंगोल, विवेकशील नेपाली दलकी रञ्जु दर्शना, साझा पार्टीका किशोर थापा, नयाँ शक्तिका पवित्र बज्रचार्य चुनावी प्रचारमा कुँदिरहेका छन् ।
आज अन्तिम दिन मेयरका आकांक्षी मध्ये महत्वका साथ हेरिका यी ६ जना उम्मेदवार के भन्छन् त ?
राजुराज जोशी
२०४९ को चुनावमा पनि मेयरको आकांक्षी थिएँ । त्यो बेला पिएल सिंह दाईले उठ्ने कुरा गरेपछि मैले मैदान छोडें । पिएल दाई अत्यन्तै सिनियर नेता भएको कारणले मैले छोडेको थिएँ ।

मैले चुनाव जित्ने आधार भनेको मेरो पार्टीनै पहिलो आधार हो । पार्टीको सिस्टममा व्यक्ति केही पनि होइन । तर त्यसमा व्यक्तित्व जोडिन्छ । म लामो समयदेखि संगठनमा बसेर काम गरिरहेको छु ।
काठमाडौंको सडकलाई विस्तार गर्ने नाममा जनताको घर जग्गालाई सरकारले सित्तैमा खान मिल्दैन । युरोपतिर पनि साघुरा सडकहरु छन् । सडकमा फ्लाई ओभर बनाउनुपर्छ । बाबुराम जिले बनाएको सडक अहिले जाम हुन थालिसकेको छ । त्यसैले सडक जति ठूलो बनाएपनि पुग्दैन ।
म प्रजातान्त्रिक मान्छे भएको कारणले म जनताको सम्पत्तीको लागि लडिरहन्छु । राज्यले लिनै परेको अवस्थामा चल्तिको मुल्य तिरेर लिन सक्नुपर्छ । जवरजस्ती भत्काउन पाईँदैन । मेट्रो र फ्लाई ओभरहरु बनाउन सकिन्छ ।
विद्यासुन्दर शाक्यमलाई एमाले र राप्रपा दुबै दलका मतदाताले भोट दिन्छन् भन्ने मलाई लाग्दछ । राष्ट्रिय एजेण्डामा दुबै पार्टी एकै ठाउँमा छन् । त्यसैले हामी पनि त्यही ठाउँमै छौं ।

हामीले मेयर र उपमेयरमा एमाले र राप्रपाको संयुक्त उम्मेदवारी दिएका छौं । दुई वटा चुनाव चिन्हबाट निर्वाचन लड्ने घोषणा गरेका छौं ।
तीन वर्षमा मेट्रो रेल र दुई वर्षमा मोनो रेल सञ्चालन गर्ने मेरो उदेश्य रहेको छ । यसको अध्ययन पनि सुरु भइसकेको छ । यो कुनै हावादारी कुरा होइन ।
विज्ञहरुले सुझाव दिएको आधारमै मैले यस्तो योजना बनाएको हुँ ।
सर्वोत्तममान डंगोल
पहिलो कुरो त नेपालको संविधानको मुख्य अन्तरवस्तु हाम्रै एजेण्डा हो । यो जनताले स्वीकार गरेको अन्तरवस्तुहरु हुन् । अहिले हाम्रो पार्टीको नेतृत्व सरकारको नेतृत्वमा छ । लोडसेडिङलाई हामीले अन्त्य गरेका छौं ।

हामीले लोडसेडिङ अन्त्य गर्न सक्ने जनताको छोरालाई कार्यकारी ठाउँमा रोखेर जनतालाई विजुली दिएका छौं ।
यो देशका सबै राजनीतिक एजेण्डा माओबादीकै हुन् । अहिलेको विजुली काम मात्रै होइन नजिर पनि हो । माओबादीले नजिर दिएको छ । हामी व्यवहारिक रुपबाट अघि आएका छौं ।
यहाँको धुलो धुवाँको लागि यातायातको मास्टर प्लान बनाउनुपर्छ । भित्री सडकलाई सांस्कृति सडक बनाउनुपर्छ । बाहिर चाहिँ ठूलो खाले सडक बनाउनुपर्छ । मेट्रो बनाउने कुरा पनि हामीले सोचेका छौं ।
किशोर थापा
मैले लामो समयसम्म प्रशासन बसेर काम गरेँ । प्रशासनमा बसेर जति मन्त्रीजज्यूहरुसँग काम गरे उहाँहरुलाई अदार गरें । उहाँहरुलाई सम्मान गरें । देशको सेवा गरें । कुनै बेला मलाई काठमाडौंको मेयर पदमा उठौं जस्तो लाग्थ्यो । तर त्यो बेला निर्वाचननै भएन । अहिले २० वर्ष पछि चुनाव हुँदैछ यही बेलामा जनताको जनमत लिएर काठमाडौंलाई हाकौं भन्ने म चाहान्छु ।

महानगरपालिका कमर्चारीहरुले चलाउँदानै अस्तव्यस्त बनेको हो । कर्मचारी भनेको आउने जाने हुन् । कर्मचारीले सहरप्रति कमिटमेन्ट दिएको हुँदैन । जनताको कुरा नेतालेनै बुझ्ने हो । विगत १५ वर्ष देखि महानगरपालिका लथालिंग रहेको छ ।
राजनीतिक नेतृत्व लिएर मैले मेरो क्षमता र विज्ञता प्रयोग गरेर महानगरलाई संचालन गर्ने हो । महानगरवासीको जीवनलाई परिवर्तन गर्ने हो । यो अन्तराष्ट्रिय सहर पनि हो ।
त्यसैले यहाँ अनुभव चाहिन्छ । विज्ञता पनि चाहिन्छ । भोलि न्यूयोर्क, पेरीस, बेइजिङ, ढाकाको मेयरसँग कुरा गर्न सक्नुपर्छ । निर्वाचित प्रधानमन्त्रीसँग पनि स्ट्याण्ड लिनुपर्छ । सोही कारणले गर्दा जनताले राम्रो मेयर छान्नुपर्छ भन्ने मलाई लाग्दछ ।
रञ्जु दर्शनाअघिल्लो निर्वाचनको समयमा म भर्खर १८ वर्षको पुगेकी थिएँ । मलाई राजनीति प्रति निकै चासो लाग्ने भएको कारणले कुन पार्टीलाई भोट हालौं भनेर सोंचिरहेको थिएँ । त्यसपछि म विवेकशील नेपाली पार्टीलाई खोज्दै गएको थिएँ ।

मेरो मुख्य योजना भनेको काठमाडौं महानगरपाकिलालाई फेरि एक पटक काठमाडौं महानगरपालिकानै बनाउने हो । संस्कृति नविर्सेर नै पूवार्धारहरु बनाउने मेरो योजना हो । पुरानै हिसावको कलात्मक काठमाडौं बनाउन सक्छौं भन्ने मलाई लाग्छ ।
सबै उम्मेदवारहरु मेरो ठूलो बुवाको उमेरको हुनुहुन्छ । सबै पार्टीले महिलालाई अन्डर स्टिमेट गरेका छन् । विवेकशील पार्टीले चाहिँ मेयरको रुपमा महिला उम्मेदवारलाई उठाएको छ ।
मलाई कच्चा उमेरको उम्मेदवार भनेर होच्याउन खोजिएको छ । तर काठमाडौंमा त मेयरको लागि कोही पनि अनुभवि छैन । २० वर्ष सम्म पनि निर्वाचन भएको छैन । अनि कसरी अरु उम्मेदवारहरु अनुभवि भए ?
यो २० वर्ष सम्म अनुभवि नेताहरुनै त सत्तामा हुनुहुन्थ्यो तर अहिले काठमाडौं सहर कहाँ छ भनेर हामीले हेर्न सक्छौं । मेरो मुख्य एजेण्डा पारदर्शीता पनि हो । हामी पारदर्शी छौं । चुनावी प्रचार प्रसारको क्रममा कहाँ कति खर्च भइरहेको छ र कहाँबाट पैसा आइरहेको छ भनेर हामीले प्रत्येक दिन पार्टीमा लेखिरहेका छौं ।
अहिले म घर दैलोमा जाँदै गर्दा मलाई माया गर्नेहरु धेरै आउनुभएको छ । उहाँहरुले पुरानो को त नामै सुन्न पनि चाहान्नौं भन्नुभएको छ । मैले उहाँलाई मलाई सल्ला सुझाव दिनुहोस्, गलत गरेँ भने कान उखेल्दिनुस पनि भनेकी छु ।
पवित्र बज्रचार्य
मैले त लामो समय महानगरमा बसेर बडाअध्यक्षकै रुपमा काम गरेँ । अहिले संघीय समाजवादी र नयाँशक्ति पार्टीको उम्मेदवारको रुपमा चुनावी मैदानमा आएको छु ।
स्थानीय तहमा राजनीतिक नेतृत्व नभएपनि निरन्तर जनताकै बीचमा रहेको छु । कहिले व्यवसायिक संगठनको रुपमा त कहिले सामाजिक संस्थाको रुपमा म जहिले पनि जनताको बीचमा नै रहेको छु ।

विगतमा महानगरपालिका कर्मचारीबाट संचालन भयो, कर्मचारीलाई नियन्त्रण गर्न पनि गाह्रो भयो । सही ढंगले महानगरपालिका अघि बढ्न सकने । बजेट हुँदा हुँदै पनि महानगर किन झन झन नराम्रो भयो भन्दा त्यहाँ व्यवस्थापन हुन सकेको छैन । त्यसैले सबैभन्दा पहिले यसलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्छ भन्ने म ठान्दछु ।
सबैभन्दा पहिले काठमाडौंलाई बस्न लायक सहर बनाउने उदेश्यनै मेरो हो । मेरो योजनाहरु प्राथमिकताको आधारमा छन् । शिक्षा स्वास्थ्यका कुराहरु पनि छन् । धुलो नियन्त्रणका लागि योजना बनाएको छु । सबैभन्दा पहिलो धुलो कहाँबाट आइरहेको छ त्यसलाई पहिचान गरेर व्यवस्थापन गर्नुपर्छ ।