टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले शनिवार फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई मानसिक उपचारका लागि जाँच गराउन सल्लाह दिएका छन् ।
फ्रान्सले इस्लामिक उग्रवादीहरूविरुद्ध कारवाही चलाउने घोषणा गरेलगत्तै एर्दोआनको बयान आएको हो ।
यसअघि पनि उनी फ्रान्सविरुद्ध धेरैपटक आक्रोशित भएका छन् । पूर्वी भूमध्यसागरका विषयमा ग्रीसलाई समर्थन गरेको भन्दै उनले फ्रान्सको कठोर आलोचना गरेका थिए । उक्त क्षेत्रमा सैन्य तैनाथी गरेर फ्रान्सले युद्ध भड्काउन खोजेको आरोप उनले लगाएका थिए ।
एर्दोआन मुसलमानहरूको नयाँ मसिहा बन्ने सपना देखिरहेका छन् । मुसलमानहरूको विरुद्ध कतै केही भयो कि उनी त्यसमा आफ्नो बयान दिइहाल्छन् ।
फ्रान्समा केही दिनअघि एक शिक्षकलाई इस्लामिक अतिवादीले घाँटी रेटेर हत्या गरेपछि कट्टरपन्थीहरूका विरुद्ध उक्त देशमा अभियान चलाउन थालिएको छ । त्यसैले एर्दोआन फ्रान्सविरुद्ध भड्किएका हुन् ।
विगत केही समययता टर्कीको अर्थतन्त्र कमजोर बनिरहेको छ र मुद्रास्फीतिले कीर्तिमान छोएको छ । यस्तो स्थितिमा मानिसहरूले ध्यान अन्तै कोड्नका लागि उनी धर्म र देशभक्तिका कुराहरू ल्याइरहेका छन् ।
एर्दोआनको बयानपछि फ्रान्सले आफ्ना राजदूतलाई तत्कालै टर्कीबाट फिर्ता बोलाएको छ । म्याक्रोंको कार्यालयले एक बयान जारी गरेर आक्रोश र अपमान अन्तर्राष्ट्रिय राजनीतिमा नचल्ने बतायो ।
एर्दोआनले मध्य टर्कीको एक शहर कासेरीमा भाषणको क्रममा म्याक्रों नामक व्यक्तिलाई मुसलमान र इस्लामसँग के समस्या छ कुन्नि भनी बताएका थिए । म्याक्रोंले मानसिक उपचार गर्नुपर्ने उनले बताए । धर्मको स्वतन्त्रतालाई नबुझ्ने व्यक्तिलाई राष्ट्रप्रमुख कसरी भन्ने भनी उनले प्रश्न उठाए ।