०५ असार २०८३, शुक्रबार

दाउरा बेचेर दशैं खर्चको जोहो

कात्तिक ९, २०७७
दाउरा बेचेर दशैं खर्चको जोहो

दैनिकजसो एकाबिहानै झिसमिसेमा दाउराको भारी साइकलमा बोकेर कञ्चनपुरको पुनर्वास नगरपालिका–१० अमरबस्तीबाट धनगढी पुग्छन् १५ वर्षीय विमल विक ।

कहिलेकाहीँ मात्र होइन, कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीपछि उनी दैनिकजसो पुनर्वासबाट साइकलमा दाउराको भारी बोकेर धनगढीका होटलमा बेच्न आउने गरेका छन् ।
 
बिहानको ६ बजे सधैजसो साइकलमा दाउरा ल्याएर बेच्ने उनको रहर होइन, बाध्यता हो । ‘घरमा कमाउने कोही छैनन् । बुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँको कमाइले मात्र घर खर्च चलाउन निकै मुस्किल पर्छ,’ उनले भने, ‘त्यसैले मैले दाउरा संकलन गरेर बेच्ने गरेको छु । दाउरा संकलन गर्न आमाले पनि सघाउनुहुन्छ ।’

अनि दाउरा बेच्न थाले ...

गाउँकै स्कूलमा ७ कक्षामा अध्ययन गरिरहेका उनी कोरोना त्रासका कारण विद्यालय बन्द भएपछि फुर्सदिला बने । ‘केही समयपछि अनलाइन कक्षा सञ्चालन हुने जानकारी पाएको भएपनि आफूसँग मोबाइल र इन्टरनेट नहुँदा मैले अनलाइन कक्षा लिन पाइनँ,’ उनले भने, ‘त्यसपछि लामो समय लकडाउन भयो । घरमा भएको अन्नपानी पनि सकियो । केही दिन त छिमेकीबाट मागेर छाक टार्‍यौं तर त्यसरी कति दिन नै चल्थ्यो र ? अनि गाउँको जंगलबाट दाउरा संकलन गरेर बेच्न थालें ।’

भारतमा मजदुरी गर्ने उनका बुवाको जागिर कोरोना संक्रमणपछिको बन्दाबन्दीले खोसियो । ‘बुवा पनि बल्लतल्ल घर पुग्नुभयो,’ उनले भने, ‘घरमा छाक टार्नै मुस्किल परेपछि हामीले दाउरा संकलन गरी बेच्न थालेका हौं ।’

दाउरा संकलन गरेर बेच्न उनलाई त्यति सजिलो छैन । बिहान उठ्ने बित्तिकै दाउराको भारी साइकलमा धनगढी पुर्‍याएर घर गएपछि फेरि भोलिका लागि दाउरा संकलन गर्न उनी आमासँगै जंगल जाने गर्छन् । ४–५ महिनादेखि दैनिकजसो दाउरा बेचिरहेको उनले बताए ।

दाउरा बेचेर दशैं खर्च 

अमरबस्तीका विमल विक मात्रै होइन, त्यहाँबाट धेरै व्यक्तिहरू दाउरा बेच्न धनगढी पुग्ने गरेका छन् । कोरोना भाइरसको प्रभावले सबै रोजगारी खोसिएपछि अधिंकाशले दाउरा बेचेरै दशैं खर्च जुटाउन थालेका छन् । ‘होटलमा १ भारी दाउराको २५० रुपैयाँ दिन्छन्,’ विमल भन्छन्, ‘मैले त दाउरा बेचेरै दशैंका लागि नयाँ कपडा किनिसकेको छु । दशैं खर्च २ हजार पनि दाउरा बेचेरै जम्मा गरेको छु ।’

दाउरा बेच्न धनगढी पुगेकी अमरबस्तीकी १७ वर्षीया पुष्पा बोहराले दशैंको खर्चका लागि दाउरा बेचिरहेको बताइन् । ‘यसपालि त नयाँ लुगा पनि किन्ने हो, दाउरा बचेकै रुपैयाँबाट दशैैंमा मासु पनि खाने हो,’ उनले भनिन् ।

अमरबस्तीकै ४६ वर्षीया पार्वती नेपालीले १–१ भारी दाउरा बेचेर रकम जम्मा गरी ७ हजार भएको बताइन् । ‘यसपालि यसै पैसाले दशैं मनाइन्छ । हाम्रो त आम्दानीको स्रोत नै यही हो । दाउरा बेचेरै हाम्रो गुजारा चलिरहेको छ,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्