
नेपाल–भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ ।
विभिन्न नाका हुँदै अवैध रूपले नेपाल भित्रिने कपडा लगायत शृंगार प्रसाधन र तयारी कपडालगायत विभिन्न सामग्री रौतहटकै बजारमा लग्ने गरिन्छ ।
नेपालतफ सीमावर्ती क्षेत्रका बेलबिछवा, महादेवपट्टी, बंजरहा, मठ्ठिया, जयनगर, रामपुरखाप, नरकटिया र बंकूल, बाराका कचोरवा, सिमरौनगढ़, पिपरपाती, मटीअर्वा, बसतपुर, कवाहिकोटलगायत तथा भारततर्फका बोर्डर आउट पोस्ट बरगैनिया, चैनपुर, भंगहा, जमुनिया, अठमुहान, अमवा लगायतबाट कपड़ा एवं अन्य वस्तु तस्करी भइरहेको छ ।
जिल्लामा तस्करी बढ्दै गएको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वार्टर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओलीले कडा कारवाही गरेका छन् । कोरोना भाइरस महामारीका समयमा मुख्य नाकाका साथसाथै ग्रामीण भेगमा समेत सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ ।
नेपाल र भारतको खुला सीमाको फाइदा उठाउँदै अवैध रूपले नेपाल भित्र्याइएका मोटरसाइकलसहित कपडा र अन्य सामान बरामद समेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी दिए ।
उनका अनुसार विशेष सूचना पाउनासाथ सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । शनिवार राति मोटरसाइकलसहित करीब ९ लाख बराबरको कपडालगायत विभिन्न सामग्री बरामद गरिएको छ । भारत–नेपालको सीमा नाकामा पर्ने नरकटिया समिलको बाटो भएर देवाही गोनाही नगरपालिकाको करकच टोलबाट भित्र्याइएका करीब ४ लाख ५० हजार बराबरका अवैध लत्ताकपडा, मोबाइल, कीटनाशक औषधि तथा बारा –रौतहटका विभिन्न नाकाबाट राजस्व छली गरी ल्याइएका करीब ४ लाख ५० हजार बराबरका विभिन्न सामग्री राति नै बरामद गरी ११ नम्बर गण हजमिनिया सशस्त्र हेडक्वार्टरमा ल्याइएको प्रहरी उपरीक्षक ओलीले बताए ।
विभिन्न नाकाबाट तस्करी हुन थालेपछि मातहतका एकाइलाई नियन्त्रण गर्न र भागेका तस्करको खोजतलास समेत गर्न निर्देशन दिइएको छ । बरामद भएका सामग्री आवश्यक कारवाहीका लागि कार्यालय खुलेपछि भन्सार कार्यालय बुझाइने सप्रउ ओलीले जानकारी दिए ।