
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतवार चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उनी आइतवार घर फर्केका हुन् ।
गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसूस भएपछि अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक र व्यवस्थापन समिति, कर्मचारी तथा आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह, सद्भाव र शुभकामना दिने सबैमा कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गरेका राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्टयान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कनसल्टयान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्टयान्ट इन्टेन्सिभिस्ट डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. विपीन कार्की लगायतको टोली संलग्न थियो । १० दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने जनाइएको छ ।