
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी आ–आफ्नो परिवारमा सीमित रहेर दशैं मनाउन अपिल गरेका छन् ।
विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसपटक कोभिड–१९ को महामारीलाई जितेपछि आगामी वर्ष चाडपर्वहरू उल्लासमय रूपमा मनाउन सकिने हुँदा स्वास्थ्य सजगता अपनाउन आग्रह गरे ।
मुख्यमन्त्री शाहीले कोभिड–१९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रूपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरूको उल्लेख्य विकास गरेको बताएका छन् ।
‘आवश्यक संख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू शय्या क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टीन व्यवस्थापन लगायतका कामहरू भएका छन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘नागरिकको जीवन रक्षाजस्तो संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षण सहितका कोभिड संक्रमित बिरामीको निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेश सरकारले गरेको छ ।’
उनले नयाँ चुनौतीका रूपमा खडा भएको कोरोना संकटले विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भए पनि बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरूप प्राप्त संघीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न योजनाबद्ध रूपमा प्रदेश सरकार अगाडि बढिरहेको बताए ।
‘संघीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमी लगायतका समस्याहरूसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणका लागि प्रदेश सरकार दृढ छ,’ जारी शुभकामना सन्देशमा उल्लेख छ ।