
गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका २ र नवलपुरका २ जना हुन् । उनीहरूमध्ये ३ पुरुष र १ महिला छन् ।
गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले सोमवार विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् ।
तीमध्ये पोखरा–५ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा आइतवार राति ९ बजेर १० मिनेटमा मृत्यु भएको हो ।
पोखरा–१५ की ७८ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल पोखरामा आइतवार राति ११ बजे मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत गैंडाकोट नगरपालिका–५ का ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ भने कावासोती २ का ७७ वर्षीय पुरुषको मध्यविन्दु अस्पतालमा मृत्यु भएको छ ।
यससहित प्रदेशमा कोरोना संक्रमितमध्ये हालसम्म ६७ जनाको ज्यान गइसकेको छ । हालसम्म संक्रमितको संख्या ६ हजार ७११ पुगेको छ । पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर उच्च रुपमा वृद्धि भएको छ ।