०४ असार २०८३, बिहीबार

मदन भण्डारी र प्रचण्डले चुनाव लडेको क्षेत्रमा कस्तो छ निर्वाचन रौनक ?

कात्तिक २०, २०७४
मदन भण्डारी र प्रचण्डले चुनाव लडेको क्षेत्रमा कस्तो छ निर्वाचन रौनक ?

काठमाडौं २८ वैशाख– नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको चुनावी क्षेत्र भनेर चिनिने काठमाडौंको दक्षिणी भेगमा स्थानीय तह निर्वाचनको रौनक तातेको छ । नेकपा एमाले र माओवादी केन्द्रले यस क्षेत्रलाई ‘लाल किल्ला’ ठान्ने गर्दछन् ।

२०४८ सालको संसदीय निर्वाचनमा एमाले नेता मदन भण्डारीले यस क्षेत्रबाट चुनाव जितेका थिए । यही क्षेत्रवाट २०६४ सालको संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेका थिए । २०७० को संविधानसभा चुनावमा भने कांग्रेस उम्मेदवार राजन केसीसँग प्रचण्डले पराजय व्यहोरेका थिए ।

स्थानीय निर्वाचनमा प्रमुख तीन दलबीच नै मुख्य प्रतिष्पर्धा देखिएको छ । दक्षिणकाली नगरपालिाकामा नेपाली कांग्रेसका तर्फवाट मोहन बस्नेत, नेकपा एमालेको तर्फवाट शशी शर्मा अर्याल र माओवादी केन्द्रका तर्फवाट सञ्जय लामा मेयरका उम्मेदवार छन् । यस्तै राप्रवाबाट सुदर्शन पन्त तथा नयाँ शक्ति पार्टीका तर्फवाट आशा लामा मेयरका उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् ।

सबै दलले खानेपानी, विकास र रोजगारी सृजनालाई मुख्य चुनावी नारा बनाएका छन् । भूकम्पपछि पानीका मुहान सुकेर खानेपानी यस क्षेत्रको एउटा मुख्य समस्या बनेको छ । शेषनारायणस्थित नारायण थानको पानी लिफ्टीङ गरेर पुरानो दक्षिणकाली डाडामा उकालेर पानी वितरण गर्ने योजना तयार भएको छ ।

यसअतिरिक्त फर्पिङको बोसन खोलादेखि किर्तिपुर चम्पादेवीसम्म सडक बनाएर होमस्टे चलाउने र पर्यटकीय क्षेत्र बनाउने कांग्रेस उम्मेदवारको चुनावी प्रतिबद्धता छ । फर्पिङलाई काठमाडौंको उत्कृष्ठ पर्यटकीय स्थल बनाउने राजनीतिक दलको प्रतिबद्धता छ ।

नेकपा एमालेका मेयरका उम्मेदवार शर्मा फर्पिङबाट दुईपटक गाबिस अध्यक्ष बनेका थिए । उनी स्थानीय मनमोहन मेमोरियल अस्पतालका अध्यक्ष समेत हुन् । नेपाली कांग्रेसका बस्नेत पनि टल्कु डुँडेचौर गाबिसको पूर्वअध्यक्ष हुन् ।

नेपाली कांग्रेसका स्थानीय नेता एवं समाजसेवी राजेन्द्रबहादुर केसी दक्षिणकाली नगरपालिकामा राजनीतिक दलहरुबीच सौहाद्रपूर्ण वातावरण रहेको बताउँछन् । ‘निर्वाचित भएर जो नेतृत्वमा आएपनि सबै दलको सहमतिमा काम गर्नु पर्छ भन्ने भावनाले एक दलले अर्कोलाई आक्षेप लगाउने र गाली गलौच गर्ने काम भएको छैन’ केसी भन्छन्, ‘सबै राजनीतिक दलका चुनावी एजेण्डा उस्तै छन् ।’


मतदाताहरुले सबै उम्मेदवारसँग चुनाव जितेपछि के गर्ने भनेर प्रतिबद्धता मागिरहेका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले लागू गरेको सडकको मापदण्डमा पुनरावलोकन गर्नुपर्ने स्थानीयको जोडदार माग छ ।
उपत्यका विकास प्राधिकरणले मोटरवाटोमा १० मिटर आसपास छाडनु पर्ने र गोरेटो बाटोमा १५ फिटको मापदण्ड लागू गरेपछि थोरै जमिन हुनेहरुले आफूहरुको उठिबास लाग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका तर्फवाट नगर सदस्यका उम्मेदवार रामहरि खड्का राजतन्त्र हटाउने, गणतन्त्र स्थापनादेखि लोडसेडिङ हटाउनेसम्म काम माओवादीले गरेकोले चुनावमा भोट माग्न सझिलो भएको बताउँछन् ।

स्थानीय मतदाताहरु मेयरमा कांग्रेस र एमालेबीच मुख्य प्रतिष्पर्धा हुने बताउँछन् । केही वडामा माओवादी केन्द्र र राप्रपाको समेत उपस्थिती राम्रो रहेको स्थानीयहरु बताउछन् । चुनाव प्रचारको अन्तिम दिन राजनीतिक दलका कार्यकतर्ताले प्रचार प्रसारलाई तीब्र बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्