
काठमाडौं, २८ वैशाख – सहोदर दुई दाजुभाइ फरक पार्टीबाट वडाध्यक्षको चुनावी मैदानमा ओर्लिएपछि माहोल कस्तो होला ? परिवारले के सोचिरहेको होला ? ९० वर्ष उमेर पार गरेका बुवालाई कस्तो लागिरहेको होला ? छरछिमेक के भन्दै होलान् ?
राजधानी काठमाडौंबाट नजिक पर्ने दक्षिणकाली नगरपालिकाको वडा नं ४ मा पुुग्नुभयो भने अहिले यिनै प्रश्न सुन्न पाइन्छ । त्यहाँको चुनावी प्रसंग विशेष र रोचक छ ।
उक्त नगरपालिकाको वडा नं ४ को अध्यक्ष पदमा एकै घरका सहोदर दुइ दाजुभाइ फरक–फरक पार्टीबाट भिडेका छन् । दक्षिणकाली नगरपालिका वडा नं ४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट पुष्कर खड्का र नेकपा एमालेबाट दिवाकर खड्का भिडेका छन् ।
पुष्कर जेठा दाजु हुन् भने दिवाकर माइला भाइ हुन् । ‘दाइ भाइ भनेको यस्तै हो,’ दिवाकरले लोकान्तरसँग भने, ‘जन्मदैखेरी आधी अंशको दाबी गर्ने दाजुभाइ फरक पार्टीबाट चुनाव लड्नु खासै अनौठो होइन । कसले बढी काम गरेको छ, त्यो मूल्यांकन गरेर जनताले भोट दिनुहुनेछ ।’
दिवाकरले आफू २०५४ सालबाटै नेकपा एमालेको झण्डा बोकेर हिँडेको दाबी गरे । ‘समाजमा केही न केही योगदान पु–याएको मानिस हुँ, यसपटकको चुनावमा जनताले मेरो योगदानको कदर गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले भने ।
दुई छोरा फरक–फरक पार्टीबाट वडाध्यक्षमा उठेपछि तपाईंको बुवालाई चाहिँ कस्तो लागिरहेको होला ? लोकान्तरको यो प्रश्नमा दिवाकरले भने, ‘बुवा अहिले मसँग बस्नुहुन्छ । उहाँले केही न केही धारणा त बनाइसक्नुभएको होला । चुनावको अघिल्लो दिन वैशाख ३० गते मात्र बुवासँग कुराकानी गर्ने सोच मैले बनाएको छु ।’
९० वर्षीय बुवा लीलाबहादुर खड्कासँग पनि लोकान्तरले यस विषयमा संक्षिप्त कुरा गर्ने अवसर पायो । कान कम सुन्ने लीलाबहादुरले संक्षिप्त कुरा गर्दै भन्नुभयो, ‘दुई छोरा फरक पार्टीबाट वडाध्यक्ष लडेकोमा मलाई नरमाइलो लागेको छैन । खुशी लागेको छ किनभने जनताका बीच मेरा छोराहरू प्रिय र चर्चित रहेछन् भन्ने महसूस भइरहेको छ ।’
आफूले मतपत्र बोकेर मतदान केन्द्रभित्र पसेपछि मात्र दुई छोरामध्ये एकको पक्षमा निर्णय लिने तर त्यो अहिले नखुलाउने बताउँदै लीलाबहादुरले थप्नुभयो, ‘जनताले जसलाई उपयुक्त देख्छन्, उसैलाई जिताउँछन् । दुई छोरामध्ये जसले जितेपनि वडाध्यक्षमा मेरै छोराले जित्ने पक्का छ ।’
लीलाबहादुर वर्षौंदेखि माइलो छोरा दिवाकरसँग बस्नुुहुन्छ । उहाँले २०५४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नम्बर ८ को वडाध्यक्षमा लडेर चुनाव जित्नुभएको थियो । उहाँ नेपाली सेनाको सुविदार पदबाट सेवानिवृत्त समाजसेवीका रूपमा गाउँलेमाझ परिचित हुनुहुन्छ ।
‘यसैलाई बहुदल भनेका हेलान्,’ जेठा दाइ पुष्करले दाजुभाइको चुनावी प्रसंग निकाल्नासाथ लोकान्तरसँग भने, ‘खेलमा हारजीत त भइहाल्छ नि ।’
दाइ पुष्करले एउटै किताब पढ्नेमध्ये कोही फेल र कोही पास हुने प्रसंग सुनाए । ‘जीवन नै परीक्षा हो,’ उनले थपे, ‘एउटै किताब पढ्नेमध्ये कोही पास र कोही फेल हुन्छन् । मैदानमा उत्रेपछि हारजीत हुन्छ नै । मैले कार्यक्षेत्रमा उत्रेर विगतमा कति काम गरेको छु, त्यो यहाँका जनतालाई राम्रोसँग थाहा छ । त्यसैको मूल्यांकन गरेर जनताले निर्णय गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’
बुवालाई दबाब महसूस होला भनेर आफूले अहिलेसम्म भोटका बारेमा कुनै छलफल नगरेको दाजु पुष्करले बताए । ‘चुनावी घरदैलो कार्यक्रमका सिलसिलामा बुवासँग हिजो मेरो भेट भयो तर मैले भोट माग्ने वा सहयोग गर्र्ने सम्बन्धमा कुनै कुराकानी गरिनँ,’ पुष्करले भने, ‘पहिले कांग्रेसबाट उठेर चुनाव जितेकाले बुवाले उक्त पार्टीलाई अझैसम्म माया गरेको हुनपनि सक्नुहुन्छ । तर माइलो छोराले सेवासुविधा दिएर पालेर राखेकाले उसको पार्टीलाई मन पराउन पनि सक्नुहुन्छ । त्यो बुवाको ‘च्वाइस’ (छनोट) भयो ।’
छरछिमेक र स्थानीय बासिन्दाले पनि सहोदर दाजुभाइ दुई फरक पार्टीबाट वडाध्यक्ष पदमा उठेको विषयलाई रोचक ठानेका छन् । ‘राजनीतिमा यस्तो हुनु सामान्य पनि हो, रोचक पनि हो । तर कसलाई छनोट गर्ने भन्नेमा कहिलेकाहीँ दोधार हुँदोरहेछ,’ स्थानीय एक शिक्षकले नाम नबताउने शर्तमा भने ।
दुई दाजुभाइले चुनावी प्रचारप्रसारका क्रममा एकअर्कालाई आक्षेप लगाउने वा गालीगलौज गर्ने गरेका छैनन् । दुवै पक्षले आफ्ना कार्यकर्तालाई सभ्य ढंगले चुनावी प्रचार गर्न सुझाव दिएका छन् ।
प्रचारका क्रममा त्यहाँ एक भाइले अर्कोलाई होच्याउने, गलत टिप्पणी गर्ने वा गालीगलौज गर्ने गरेको पाइएन ।