२३ जेठ २०८३, शनिबार

रुसले गरेको हवाई आक्रमणमा ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु

कात्तिक ११, २०७७
रुसले गरेको हवाई आक्रमणमा ५० भन्दा बढी टर्कीसमर्थित लडाकूको मृत्यु

उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले गरेको हवाई आक्रमणमा परी ५० भन्दा बढी टर्कीसमर्थित लडाकूहरूको मृत्यु भएको छ । 

आक्रमणमा कैयौं लडाकू घाइते भएका छन् । हवाई आक्रमणपछि उक्त क्षेत्रमा हिंसा बढेको छ । 

फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षणस्थललाई आक्रमणको तारो बनाइएको छ । 

यस आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्धविराम जोखिममा परेको छ । 

सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले परस्पर विरोधी पक्षलाई समर्थन गरिरहेका छन् । 

बेलायतमा रहेको मानवअधिकारवादी संस्था सिरियन अक्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार, आक्रमणमा मर्ने लडाकूको संख्या ७८ सम्म हुन सक्छ । 

कैयौं लडाकूको स्वास्थ्यस्थिति गम्भीर छ र मर्नेको संख्या बढ्न सक्छ । 
 

मार्च महिनामा युद्धविराम गरिएपछिको यो सबभन्दा ठूलो आक्रमण हो । आक्रमण इदलिब शहरको उत्तरपश्चिममा रहेको हारेम क्षेत्रमा गरिएको हो । 

युद्धविरामपछि यस क्षेत्रमा सिरियाली सेनाको आक्रमण रोकिएको थियो । त्यहाँबाट १० लाखभन्दा बढी मानिस घर छोडेर गइसकेका छन् । युद्धविरामपछि त्यहाँ पलायन पनि रोकिएको थियो । 

सिरियाका राष्ट्रपति बशर अल असदको समर्थनमा कुनै शक्तिले आक्रमण गरेमा त्यसलाई भरपूर जवाफ फर्काउने अधिकार टर्कीसँग रहेको भनी उसले युद्धविरामका बेलामा बताएको थियो । 

सिरियामा विगत नौ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । विद्रोही र जिहादीहरूको कब्जामा रहेको इदलिब नै सिरियाको अन्तिम प्रान्त हो । अन्य क्षेत्रबाट सरकारी सेनाले विद्रोहीहरूलाई लखेटिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्