२५ जेठ २०८३, सोमबार

फ्रान्सको उत्पादन बहिष्कार गर्न टर्कीका राष्ट्रपतिले गरे आह्वान

कात्तिक ११, २०७७
फ्रान्सको उत्पादन बहिष्कार गर्न टर्कीका राष्ट्रपतिले गरे आह्वान

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनदले कट्टरपन्थी इस्लामविरुद्ध फ्रान्सले लिएको कठोर अडानको विरोध गर्दै टर्कीका मानिसलाई फ्रान्सेली उत्पादन नकिन्न अपील गरेका छन् । 

टीभीमा सम्बोधन गर्दै उनले भने, ‘फ्रान्समा मुसलमानहरूमाथि दमन गरिएमा संसारका नेताहरू मुसलमानहरूको सुरक्षाका लागि अघि बढ्नुपर्छ ।’

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले उग्रवादी इस्लामबाट धर्मनिरपेक्षताको रक्षा गर्ने बताए । एर्दोआनले म्याक्रोंको बयानको कठोर आलोचना गरेका छन् । 

फ्रान्समा एक विद्यालय शिक्षकले पैगम्बर मोहम्मदको कार्टून देखाएकाले उनको घाँटी काटेर हत्या गरिएपछि इस्लामका विषयमा विवाद भएको छ । 
 

स्यामुएल प्याटी नामक ती शिक्षकलाई अक्टोबर १६ मा अब्दुल्लाह अन्जोरोफ नामक किशोरले टाउको काटेर हत्या गरेका थिए । 

इस्लाममा पैगम्बरको तस्वीर बनाउन पूरै प्रतिबन्ध छ । 

तर फ्रान्स धर्मनिरपेक्ष मुलुक हो र उसको राष्ट्रिय पहिचान नै त्यसमा अडिएको छ । कुनै एक धर्मको भावनालाई ध्यान दिँदा अभिव्यक्ति स्वतन्त्रताको हनन हुने र राष्ट्रिय एकता कमजोर हुने फ्रान्स सरकारको तर्क छ । 

सोमवार टीभीबाट प्रसारण गरिएको सन्देशमा एर्दोआनले फ्रान्सेली सामान बहिष्कार गर्ने अपील गरेका हुन् । 

उनले भने, ‘फ्रान्सको लेबल लागेको सामान नकिन्नुस्, तिनीहरूलाई भाउ नदिनुस् । फ्रान्समा मुसलमानहरूका विरुद्ध दोस्रो विश्वयुद्धमा यहुदीका विरुद्ध चलाएको जस्तो अभियान चलाइँदैछ ।’

त्यसअघि एर्दोआनले म्याक्रोंको मानसिक स्वास्थ्यको जाँच हुनुपर्ने समेत भनेका थिए । यसमा फ्रान्सले कडा आपत्ति जनाउँदै टर्कीमा रहेका आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय लिएको थियो । 

पश्चिम युरोपमा सबभन्दा धेरै मुसलमान फ्रान्समै बस्छन् । धर्मनिरपेक्षताको नाममा आफूहरूलाई सताइने गरेको केही मुसलमानहरूको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्