काठमाडौं, २८ वैशाख– चुनाव प्रचारप्रसारका लागि उम्मेदवारहरूले काठमाडौंबाट हेटौंडा हुँदै तराईका विभिन्न जिल्लाहरूमा चल्ने टाटा सुमो गाडी रिजर्भ गरिलगेपछि यात्रुहरू समस्यामा परेका छन् ।

काठमाडौंबाट हेटौंडा हुँदै वीरगञ्ज, रौतहट लगायतका जिल्लाहरूमा जाने यात्रुहरू गाडी नपाएर समस्यामा परेका हुन् ।
काठमाडौंबाट हेटौंडा, वीरगञ्ज, बारा, रौतहट, सर्लाहीसम्म सार्वजनिक यातायातको रूपमा काठमाडौंको बल्खुबाट कुलेखानी हुँदै टाटा सुमो गुड्छन् । जीपजस्ता यी गाडीहरू उम्मेदवारले रिजर्भ गर्न थालेपछि यात्रुहरूका लागि गाडी कम भएको यातायात व्यवसायीहरूले बताए । उम्मेदवारहरूले सजिलोका लागि यी गाडीहरू रिजर्भमा लिने गरेका छन् ।
पैंतीसवटा सुमो व्यवसायी संघले उक्त रुटमा ६ सयभन्दा धेरै सुमो चलाउँछन् । तर ४ सयभन्दा बढी सुमो चुनावमा प्रचारप्रसारका लागि उम्मेदवारहरूले भाडामा लिएपछि बल्खु चोक पुगेका यात्रुहरू सुमोको खोजीमा भौंतारिन बाध्य भएका हुन् ।
दैनिक ६ सयभन्दा बढी टाटा सुमो चल्ने उक्त रुटमा अहिले मुश्किलले २ सय मात्र चलेका छन् । अरू सबै दलका झण्डा फहराएर रिजर्भमा कुदेका छन् ।

धेरै गाडीहरू उम्मेदवारले भाडामा लिएपछि यात्रुहरूलाई गाडी अपुग भएको व्यवसायीहरू बताउँछन् ।
सोही रुटमा सुमो गुडाउने युनिक सुमो व्यवसायी संघका निर्मल बुढाथोकीले अहिले यात्रुहरूलाई दशैं तिहारको समयमा जस्तै गाडीको समस्या भइरहेको बताए । ‘अहिलेसम्म गाडी नै नपाएकाहरू त छैनन्, जसोतसो गइरहेका छन्,’ बुढाथोकीले लोकान्तरसँग भने, ‘तर गाडी पाउन दशैं तिहारमा जस्तै लाइन बस्नुपर्ने अवस्था छ ।’ उनले भीडभाड बढेको भएपनि सुमोको भाडा चाहिँ नबढेको बताए ।
सुमोको अभाव भएपनि विभिन्न व्यवसायीहरूले बस र ट्याक्सीसमेत सञ्चालन गरिरहेका छन् । ‘अन्य गाडीहरू थपिएको हुँदा समस्या केही कम भएको छ तर सामान्य अवस्थाको जस्तो सहजै गाडी पाउने अवस्था भने छैन,’ उनले भने, ‘उम्मेदवारहरूले महंगो तिरेर गाडी रिजर्भमा लिएका छन्, सोही कारण जनतालाई समस्या भयो ।’
बल्खुस्थित सुमो काउन्टरमा गाडी नपाएर अन्योलमा रहेका यात्रुहरू थुप्रै भेटिन्छन् ।

बुधवार राति विदेशबाट आएका रौतहटका सद्दाम हुसेन देवानले बिहीवार अबेरसम्म पनि गाडी नपाएको बताए । उनी बिहीवार दिउँसोसम्मै बल्खुस्थित सुमो काउन्टर आसपास अल्मलिइरहेका थिए । ‘खै, गाडी पाइरहेको छैन, पक्कै केही न केही त पाइएला,’ उनले भने, ‘पहिले पहिले त सजिलै गाडी पाइन्थ्यो अहिले किन कम भयो पत्तै भएन ।’
उनले चुनावको कारण गाडी नपाइएको विषयमा चाहिँ अनभिज्ञता प्रकट गरे ।
सुमोको अभावमा बस वा ट्याक्सी चढेर घर जाने योजना बनाइरहेको उनले बताए । काउन्टरमा रहेका विभिन्न व्यवसायी संघका कर्मचारीले पनि यात्रुहरूलाई सुमो भेटाउन गाह्रो परिरहेको बताए । तर त्यसको विकल्पमा बस र ट्याक्सीहरू उपलब्ध भएको चाहिँ उनीहरूले दाबी गरे ।

सुमो अभावको मौका छोपेर व्यवसायीहरूले छोटो दूरीका यात्रुलाई यात्रा नगराइरहेको समेत यात्रुहरूले आरोप लगाए । काउन्टरकै परिसरमा भेटिएका युवा दिनेश राईले आफूले वीरगञ्जसम्मको भाडा तिर्न खोज्दा पनि गाडी नपाएको बताए ।
‘म वीरगञ्ज नपुग्दै ओर्लने भएपनि वीरगञ्जसम्मको भाडा तिर्न तयार थिएँ,’ उनले भने, ‘तर सुमोवालाहरूले छोटो दुरीका यात्रुलाई चढाउन मनै गर्दैनन् ।’
उनले चुनावको समयमा यात्रुहरूले गाडी नपाएको विषय दुःखद भएको समेत प्रतिक्रिया दिए ।