०८ साउन २०८३, शुक्रबार

पश्चिम लडखडाइरहँदा चिनियाँ राष्ट्रपति सीले ल्याए महत्त्वाकांक्षी योजना

कात्तिक १४, २०७७
पश्चिम लडखडाइरहँदा चिनियाँ राष्ट्रपति सीले ल्याए महत्त्वाकांक्षी योजना

अमेरिकामा राष्ट्रपति चुनावमा तिक्ततापूर्ण प्रतिस्पर्धा भइरहेको छ अनि कोरोनाभाइरस संक्रमण पनि बढिरहेको छ । युरोप पुनः लकडाउनको बाटोमा जाँदैछ । 

तर बेइजिङमा सी चिनफिङले चीन यस महामारीपछि झनै बलियो भएर उदाएको आत्मविश्वास व्यक्त गरिरहेका छन् । 

बिहीवार सम्पन्न कम्युनिस्ट पार्टीको बैठकमा सीलाई चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेताका रूपमा प्रशंसा गर्दै बयान जारी गरियो । चीनलाई अप्ठ्यारो स्थितिबाट आगामी वर्षहरूमा उद्धार गर्दै अघि बढाउने नेता उनै भएको यसले पुष्टि गर्‍यो । 

केन्द्रीय कमिटीको बैठकले चीनलाई आर्थिक, सैन्य तथा सांस्कृतिक शक्तिका रूपमा विकसित गर्ने महत्त्वाकांक्षा प्रस्तुत गर्‍यो । 

बैठकको सारांश यसप्रकार थियो : ‘सीको नेतृत्वमा हामी बाटोमा आइलाग्ने कठिनाइ र जोखिमलाई जित्दै अघि बढ्न अवश्य सक्नेछौं ।’

कोरोनाभाइरसले चीनलाई दशकौंपछिको सबभन्दा ठूलो संकटमा धकेलेको नौ महिनापछि पनि आफूलाई कसैले चुनौती दिन नसक्ने र आफू पुनर्जागृत भएको भनी सीले यस बैठकमार्फत देखाएका छन् । भाइरस नियन्त्रणमा चीनले आरम्भतिर चालेको कदममा भएका गल्तीहरूको उल्लेखै नगरी कमिटीका २०० वा त्यसभन्दा बढी सदस्यहरूले महामारी रोक्न सफल हुनु देशको प्रमुख रणनीतिक उपलब्धि भएको भन्दै प्रशंसा गरे । 

पार्टीका सम्भ्रान्तहरूले सीको पक्षमा एकताबद्ध हुँदा उनको राजनीतिक प्रभुत्व झनै बढेको छ । महामारीपछिको विश्वमा चीन र सत्तारूढ दललाई थप उत्थानशील बनाउन सीले प्राविधिक, सामाजिक र आर्थिक प्रगतिमा जोड दिन पनि यस सहयोगले सजिलो बनाएको छ ।

अन्य मुलुक तथा तिनका नेताहरू देशभित्रै सीमित हुन खोजिरहेको बेलामा सीले पार्टीको पकड सत्तामा झनै दह्रो बनेको र देशले अन्तर्राष्ट्रिय रूपमा थप भूमिका निर्वाह गर्न सक्ने सन्देश दिन खोजेका छन् । चीनले कोभिड–१९ लाई नियन्त्रणमा लिन सफलता पाएबाट उसको संस्थागत सर्वोच्चता देखिने पार्टीले दाबी गरेको छ । अनि बेइजिङले कोरोनाभाइरसको सम्भावित खोप पनि साझा गर्ने प्रतिज्ञा गरेको छ । 

यति हुँदाहुँदै पनि चीनले वर्षौंदेखि सामना गर्दै आएका गम्भीर आर्थिक तथा भूराजनीतिक चुनौतीहरूलाई सीले सम्बोधन गर्नुपर्ने हुन्छ । 

चीनले आफ्नो सेनालाई आधुनिकीकरण गर्नका लागि ठूलै पाइला चाल्ने र युद्धका लागि तयारी अवस्थामा राख्नका लागि सैनिकहरूको तालिमलाई थप मजबूत बनाउने केन्द्रीय कमिटीले बतायो । चीनको राष्ट्रिय सुरक्षा संयन्त्र अहिले नै बलियो छ र यसलाई थप मजबूत बनाइने कमिटीको भनाइ छ । 

केही विद्वानहरूले परराष्ट्र मामिलामा चीनको जोधाहा दृष्टिकोणका कारण उसको भूराजनीतिक चुनौतीहरू थप बढेको भनी तर्क गरेका छन् । बेइजिङले होस्टेज डिप्लोमेसी र आर्थिक प्रभुत्वजन्य धाकधम्की दिने गरेको आरोप लगाइन्छ । 

तर सत्तामा सीको दह्रो पकड भएकाले यस्तो रणनीतिमा परिवर्तन ल्याउनका लागि कसैले पनि प्रस्ताव गर्ने हिम्मत राख्दैन । 

द न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्ट

salt training

कमेन्ट गर्नुहोस्