१० असार २०८३, बुधबार

नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने ३ जना पक्राउ

कात्तिक १९, २०७७
नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।

घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी १ करोड ८९ लाख ५० हजार ठगी गरेको अभियोगमा नौमुले गाउँपालिका–४ दैलेख निवासी धनबहादुर रोका, कुमाख गाउँपालिका–५ सल्यान निवासी कृष्ण शाह र शारदा नगरपालिका–९ सल्यान निवासी डिल्लीबहादुर बोहरालाई पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ बाट उनीहरूलाई ४० लाखसहित पक्राउ गरिएको हो । आइतवार पक्राउ गरिए पनि उनीहरूलाई मंगलवार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा पछिल्लो ३ दिनयता विभिन्न अभियोगमा पक्राउ परेका १२ अभियुक्त र उनीहरूको साथबाट बरामद गरिएको सामग्रीको विवरण सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रानाले अवैध ठगीधन्दा, रेड पाण्डाको छाला तथा अवैध लागुपदार्थ कारोवारमा संलग्न व्यक्ति तथा बरामद गरिएका अवैध सामग्रीको विवरण सार्वजनिक गर्दै आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रहरीले आइतवार बाँके र दाङको सिमाना शिवखोलाबाट ३ किलो लागूऔषध अफिमसहित पक्राउ परेका पश्चिमरुकुम सानीभेरी गाउँपालिका–८ निवासी २७ वर्षीय चन्द्रप्रकाश वली, दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित मंगलवार कोहलपुरबाट पक्राउ परेका बराहताल गाउँपालिका–५ निवासी गणेश नेपाली, लालबहादुर नेपाली, चामुण्डाबिन्द्रा नगरपालिका–५ दैलेख निवासी दिनेश कार्की र उमेशबहादुर थापालाई पनि सार्वजनिक गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्