
धादिङ अस्पताल धादिङमा १ हप्ताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरू गरिने भएको छ ।
वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा २ वटा भेन्टिलेटर राख्न लागिएको हो ।
धादिङ अस्पताल परिसरको बिरामी भर्ना गरिने क्षेत्रसँगै रहेको क्षेत्रमा अहिले भेन्टिलेटर राख्ने र बिरामीलाई कुर्ने आईसीयूमा राखिने स्थान बनाउँदै गरेको तथा १ हप्तामा तयार हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए ।
अस्पतालले २ भेन्टिलेटर र ८ वटा आईसीयू शय्यासहितको थप सेवा दिन निरन्तर लागिरहेको र १ हप्तापछि अस्पतालले सेवा शुरू गर्न सकिने अवस्थामा पुगेको जनाएको छ ।
कोभिड–१९ उपचारका लागि स्थापना गरिने भए पनि यो सेवा शुरू भएपछि जिल्लामै सुविधासम्पन्न अस्पतालको रूपमा रहने भएको छ । आईसीयू र भेन्टिलेटर राखिएपछि बिरामीले जिल्लामै अति संवेदनशील अवस्थामा समेत सेवा पाउनेछन् भने गरिब नागरिकले घरआँगनमै निःशुल्क सेवा पाउने अवस्था आएको अस्पतालका अध्यक्ष धमलाको भनाइ छ ।
अस्पतालमा भेन्टिलेटर सेवा सञ्चालन भएपछि गम्भीर बिरामी भएकाहरुले समेत उपचार पाउने र सबै किसिमको विशेषज्ञ सेवासमेत रहने धादिङ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । हाल धादिङ अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवामा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेका छन् भने विषेशज्ञ सहितको टोलीले सेवा दिइरहेको छ ।