३० असार २०८३, मंगलबार

कर्मचारीसँग रिसाए ‘चौकीदार’ घनश्याम भुसाल, भने – काम गर्न नसक्ने हो भने छोडिदिनुस् !

कात्तिक १९, २०७७
कर्मचारीसँग रिसाए ‘चौकीदार’ घनश्याम भुसाल, भने – काम गर्न नसक्ने हो भने छोडिदिनुस् !

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी दिएका छन् ।

‘जिम्मेवारी पूरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस्, होइन भने काम गर्नुपर्छ, परिणाम दिनुपर्छ । अब कुनै बहानाबाजी होइन, परिणाम चाहिन्छ । विना पूर्वाग्रह निर्मम काम गर्नुस् र परिणाम दिनुस् । परिणाम दिन नसक्ने भए छोड्नको लागि तयार हुनुस्,’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) व्यवस्थापन तहका अधिकारीसँगको अन्तर्क्रियामा मन्त्री भुसालले भने ।
 
आफू कृषि क्षेत्रको चौकीदार भएको बताउँदै मन्त्री भुसालले भने, ‘म कृषि क्षेत्रको चौकीदार हुँ । कसैले यसभित्र पसेर बदमासी गर्न खोज्छ, तपाईंहरूलाई गलत काम गर्न दबाब दिन्छ भने मैले गेटबाटै तह लगाइदिन्छु । त्यसो भएपछि तपाईंहरूले त प्रभावकारी रूपमा काम गर्नुपर्‍यो नि !’
 
मन्त्री भुसालले उत्पादनशील र सिर्जनशील कर्म भएकाले धर्तीका सबैभन्दा सुन्दर मानिसहरूले मात्रै कृषि पेशा अपनाउने बताउँदै त्यसलाई प्रदुषित गरिएकाले अब कुनै पनि हालतमा शुद्धीकरण हुनुपर्ने बताए ।

‘सबैभन्दा बढी देश बिगारेको राजनीतिज्ञले हो, तर त्यसमा कर्मचारीको भूमिका पनि कम्ति छैन,’ उनले भने, ‘कृषिमा राजनीति क्षेत्रबाट हुने हस्तक्षेप पूरै रोकिन्छ । कसैले तपाईंलाई अनावश्यक दबाब दिन्छ भने सिधै मलाई भन्नुहोस्, फोन डाइभर्ट गरेर म कहाँ पठाइदिनुस्, त्यस्ता सबै दबाबलाई म तह लगाउँछु । त्यसो भएपछि तपाईंहरूले त परिणाम दिनुपर्‍यो नि !’

मन्त्री भुसालले नार्कमा रहेको बेथिति देख्दा आफूलाई भाउन्न भएको बताउँदै अब त्यसरी नहुने बताए । ‘अब कुर्न सकिँदैन, जुनसुकै हालतमा पनि परिणाम चाहिन्छ,’ मन्त्री भुसालले भने । 

कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारी तथा निर्देशकहरू रामबहादुर केसी, डा. स्वंय प्रकाश श्रेष्ठ र नविन प्रकाश पौडेलले नार्कको विभिन्न पक्षबारे कार्यपत्र पेश गरेका थिए । 

कार्यक्रममा सहभागी नार्कका उच्च अधिकारीले विगतमा मन्त्री र कृषि मन्त्रालयको नेतृत्वबाट कृषि अनुसन्धानलाई पूर्वाग्रही रूपमा पछाडि पारिएको तथा नार्कका साधनस्रोतलाई दुरुपयोग गर्न दबाब दिइने गरिएको अनुभव सुनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्