
अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम बुधवार राति मात्र आउने देखिएको छ ।
धेरै राज्यहरूले कोरोनाभाइरस महामारीका कारण हुलाकमार्फत मतदान गर्ने सुविधा उपलब्ध गराएका छन् । त्यस्ता मत गन्नका लागि बढी समय लाग्छ ।
फ्लोरिडा जस्ता राज्यमा चुनावको २२ दिनअघि नै भोट गन्न पाइने अनुमति दिइएको थियो । नर्थ क्यारोलाइनामा चुनावको पाँच हप्ता अघिबाट मतपत्र गन्न पाइने र निर्वाचन सकिएपछि मिलान गर्ने उपाय अपनाइएको थियो ।
तर मिशिगन, पेन्सिल्भेनिया र विस्कोन्सिन जस्ता राज्यमा निर्वाचनको दिनअघि मत नगन्ने निर्णय लिइएको थियो । यसले गर्दा विजेता घोषणा गर्नका लागि थप समय लाग्ने भएको छ ।
केही महत्त्वपूर्ण राज्यहरूमा निर्वाचनको दिनभन्दा धेरै पछि पनि हुलाकबाट मतपत्र आउन सक्छन् र तिनलाई गन्नुपर्ने हुन सक्छ ।
केही क्षेत्रमा एब्सेन्टी ब्यालोट र सुस्त हुलाक सेवाका कारण यस्तो पूर्वसतर्कता आवश्यक रहेको डेमोक्रेटहरूको तर्क छ ।
उदाहरणका लागि, नेभादाका मतदाताहरूको हुलाकी मतपत्र नोभेम्बर १० भन्दा अगाडि आउन सक्दैन ।
निर्वाचनको दिनभन्दा निकै अघिबाट भएको मतदानमा ट्रम्पका अधिकांश समर्थकहरूले चुनावकै दिन भोट दिने भनेका थिए अनि जो बाइडनका समर्थकहरूले हुलाकमार्फत मतदान गर्ने भनेका थिए ।
ट्रम्पको निर्वाचन अभियानको कानूनी टोलीले हुलाकमार्फत आएका मतको वैधतालाई चुनौती दिने सम्भावना छ । विशेषगरी पेन्सिल्भेनिया र विस्कोन्सिनमा यस्तो सम्भावना देखिन्छ ।
महत्त्वपूर्ण राज्यका परिणामहरू अझै अनिश्चित हुनाले ट्रम्पले सर्वोच्च अदालतको ढोका ढकढक्याउने धम्की दिएका छन् ।