
कालीगण्डकी करिडोर सडक निर्माणका क्रममा ५ जना मजदुरको पहिरोले पुरिएर बुधबार मृत्यु भएको छ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–३ सखुवा भन्ने स्थानमा दिउँसो ५ बजे सडक खन्ने क्रममा आएको सुख्खा पहिरोमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।
‘सडक निर्माणका क्रममा ७ जना मजदुरले जालीमा ढुंगा भर्दै थिए । त्यस क्रममा आएको पहिरोमा परेका २ जनालाई प्रहरी र स्थानीयले उद्दार गरे । अन्य ५ जना पहिरोमा परे,’ तामाङले भने । गैंडाकोटदेखि राम्दीसम्म १ सय ३० कि.मि. सडक निर्माण हुँदै छ । त्यस क्रममा खटिएका स्थानीयको पहिरोमा परेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।
पहिरोमा परी मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुनबहादुर पुलामी, २० वर्षीय ताराबहादुर लुङ्गेली, २० वर्षीय चेतबहादुर अस्लामी र २९ वर्षीय तुलबहादुर सारु रहेको प्रहरीले जनाएको छ । उनीहरु सबै बुलिङटार–४ का हुन ।