१५ असार २०८३, सोमबार

दक्ष शिक्षक पाउन कठिन

कात्तिक २०, २०७७
दक्ष शिक्षक पाउन कठिन

 यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ ।

नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक अभाव रहेको तथा सामाजिक अध्ययनमा दक्ष शिक्षकको समेत अभाव हुने स्थिति देखिएपछि गुनासो बढ्न थालेको छ ।

खासगरी सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाले धेरै विषय समेटेकाले यसको अध्यापन गराउन सक्ने दक्ष शिक्षकको अभाव देखिएको राजधानीको कङ्काली माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले बताए ।

इतिहास, भूगोल र धर्म संस्कृतिमा स्नातकोत्तर तह हासिल गरेको जनशक्तिले मात्र यो विषय राम्ररी पठनपाठन गर्न सक्ने अवस्था देखिएको भन्दै उनले शिक्षकलाई माथिल्लो कक्षा लिन लगाउँदैमा समस्या समाधान नहुने बताए ।

कक्षा १० मा विज्ञान एउटै शिक्षकले पढाए पनि कक्षा ११ मा फरक फरक विषयगत शिक्षकले पढाए जसरी नै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षासमेत पढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । तर यसका लागि शिक्षक अभाव देखिएको उनी बताउँछन् । सामाजिक जीवनका विविध पक्ष समेटेर विषयको दायरा निकै उच्च बनाइए पनि त्यसअनुसार शिक्षकको प्रबन्धमा भने ध्यान नदिइएको उनको भनाइ छ ।

राजधानीको पद्मोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतमले सामाजिक अध्ययनको पाठ्यक्रम निकै व्यापक भएको र पुस्तकसमेत नआएका कारण शिक्षकलाई अध्यापनमा समस्या देखिएको बताए । कक्षा ११ मा अध्यापनका लागि स्नातकोत्तर शैक्षिक योग्यता चाहिने तर सबै विद्यालयमा त्यस अनुसारको विषयगत शिक्षकको समस्या व्यवस्था गर्न कठिनाइ देखिएको उनी बताउँछन् ।

यसका साथै प्रविधि नजानेको शिक्षकलाई ११ कक्षा पढाउन समस्या हुने अवस्था रहेको उनको भनाइ छ ।

सामाजिक विषयका शिक्षक तथा पाठ्यपुस्तक लेखक गोविन्द भण्डारी विश्वविद्यालय तहसम्म जोडिने भएकाले कक्षा ११ र १२ को पाठ्यक्रम केही उच्च स्तरको रहेको तर शिक्षकलाई समयानुकूल तालिम नहुँदा अध्यापनमा समस्या भएको बताउँछन् ।

शिक्षण पेसामा शिक्षाशास्त्र अध्ययन गरेको व्यक्तिलाई मात्र ढोका खुला गरिएका कारण हाल आएर सामाजिक अध्ययन लगायतको विषय अध्यापनका लागि शिक्षक अभाव देखिएको उनको भनाइ छ ।

अब योग्यतामा व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न सके यस क्षेत्रमा अहिले देखिएको समस्या क्रमशः समाधान हुने लेखक भण्डारी बताउँछन् । समाजशास्त्रमा स्नातकोत्तर व्यक्तिलाई यसको शिक्षक बनाउन सकिए समस्या कम हुने​ उनको विश्लेषण छ ।

कक्षा ११ मा सामाजिक तथा जीवनोपयोगी शिक्षा अध्यापन गराउने शिक्षक माधव दाहाल सामाजिक अध्ययन व्यापक विषय भएको र यसले समाजका विविध आयाम समेटेकाले शिक्षकहरूले धेरै परिश्रम गर्नुपर्ने अवस्था रहेको बताउँछन् । यसका लागि शिक्षकको क्षमता अभिवृद्धि गरिनुपर्ने र शिक्षकले पनि यसमा ध्यान दिनुपर्ने आवश्यकता उनी औँल्याउँछन् ।

यसभित्र रहेको राजनीति, धर्म संस्कृति, इतिहास, भूगोललगायत विविध विषयवस्तु मेहनत गर्ने हो भने एक शिक्षकले अध्यापन गराउन सक्ने विश्वास उनले व्यक्त गरे ।

विश्वविद्यालयको शिक्षासित जोड्नुपर्ने भएकाले पनि कक्षा ९ र १० को तुलनामा यसको पाठ्यक्रम स्तरीय भएको र यो स्वाभाविक नै भएको उनको भनाइ छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहाल कक्षा ११ मा यसै वर्षबाट लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पठनपाठनका लागि शिक्षकलाई छिट्टै अभिमुखीकरण गरिने बताए ।

हालसम्म पुस्तकको तयारीका लागि केन्द्रले समय खर्च गरेको उल्लेख गर्दै उनले अब शिक्षक तालिम नै सरकारले मुख्य प्राथमिकतामा रहेको बताए । गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्