
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएका विवाद समाधानका लागि अविलम्ब बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पुनः आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार भएको भेटवार्तामा ओली बैठक बोलाउन राजी नभएपछि भेटवार्ता विनानिष्कर्ष सकिएको छ ।
अध्यक्ष प्रचण्डका एक सहयोगीका अनुसार बिहीवारको वार्ता विना निष्कर्ष सकिएको हो । ‘भेटवार्ता सकियो, आजपनि खास केही प्रगति भएन,’ प्रचण्ड निकट स्रोतले लोकान्तरसँग भन्यो ।
ओलीलाई भेट्न मध्याह्न साढे १२ बजे बालुवाटार पुगेका प्रचण्ड साढे २ बजे बालुवाटारबाट बाहिरिएका थिए ।
प्रधानमन्त्री ओलीले भने दुई अध्यक्षबीच सहमति भएपछि मात्र सचिवालय बैठक बोलाउने बताउँदै आएका छन् ।
पार्टीमा परामर्श नगरी मन्त्रिपरिषद्लाई पूर्णता, राजदूतहरूको सिफरिश तथा कर्णाली प्रदेशमा उत्पन्न विवाद समाधान गर्न तत्परता नदेखाएको भन्दै प्रचण्ड असन्तुष्ट छन् ।
गत शनिवारको भेटमा ओलीले सहमतिमा नआउने हो भने अलग अलग हिडौं भनेर प्रस्ताव गरेको प्रचण्डले आफूनिकटका नेताहरूलाई बताएका थिए ।
भेटमा प्रदेश १ कमिटीका नेताहरूलाई ओलीले बुधवार गरेको भर्चुअल सम्बोधनप्रति पनि प्रचण्डले असहमति जाहेर गरेका थिए ।
आइतवार आफ्नै निवासमा भएको भेलामा प्रचण्डले ओलीबाट अलग भएर जान प्रस्ताव आएको बताएपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ ।
आफूविरुद्ध पार्टीभित्र घेराबन्दी गरिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले बुधवार एक कार्यक्रममा कुनै हालतमा राजीनामा नदिने बताएका थिए । प्रचण्डसँगको भेटअघि बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकमा ओलीले सरकारविरुद्ध फेरि षड्यन्त्र शुरू भएकाले सामना गर्न तयार रहन मन्त्रीहरूसँग आग्रह गरेका थिए ।
नेकपा विवाद पेचिलो बन्दै जाँदा नेताहरूको दौडधूप बढेको छ । ओलीसँगको भेटअघि प्रचण्डले सचिवालयका अन्य सदस्यसँग कुराकानी गरेको स्रोतको भनाइ छ ।