अमेरिकाको राष्ट्रपति निर्वाचनमा जो बाइडन जीतबाट एक राज्य मात्र टाढा छन् ।
विस्कोन्सिन र मिशिगनमा जीत हासिल गरेपछि बाइडनसँग २६४ इलेक्टोरल भोट छ । उनले जर्जिया, नेभादा, नर्थ क्यारोलाइना वा पेन्सिल्भेनिया जिते पुग्छ ।
ट्रम्पले चाहिँ चारैवटा राज्य जित्नुपर्ने हुन्छ र तीनवटामा उनले मतगणना रोक्नका लागि कानूनी कारवाही शुरू गरेका छन् । मतदान प्रक्रियालाई थप नजिकबाट नियाल्न दिन आफ्ना प्रतिनिधिलाई अनुमति दिनुपर्ने माग पनि उनले गरिरहेका छन् ।
ट्रम्पले हिजै आफू विजयी भइसकेको भनी घोषणा गरेका थिए र सर्वोच्च अदालत जाने धम्की दिएका थिए । मतगणनाको प्रक्रियाले अमेरिकामाथि धोका भएको उनले बताएका थिए ।
बाइडनको निर्वाचन अभियानले भने ट्रम्पको यस्तो टिप्पणी अमेरिकी जनताको लोकतान्त्रिक अधिकार हरण गर्ने प्रयास भनी प्रतिक्रिया दिएको छ ।