विश्वले नै चासोका साथ हेरिरहेको अमेरिकामा राष्ट्रपति चुनावको मतगणना जारी छ । बिहीबार रातिसम्म राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्प जो बाइडेनभन्दा निकै पछि देखिएका छन् भने अमेरिकी मिडियाहरुले बाइडेन जित नजिक रहेको विश्लेषण गर्न थालेका छन् । यद्यपी विविध कारणले चुनावी नतिजा आउन ढिलाइ भइरहेको छ।
सामान्यतः चुनावकै दिन अर्थात जुन दिन भोटिङ हुन्छ सोही राति मतगणना भएर अर्को दिनको बिहानै नयाँ राष्ट्रपतिको को चुनिए भन्ने घोषणा हुने गथ्र्यो । तर यस पटक कोरोनाभाइरसका कारण बदलिएको नियमका कारण पूरा प्रक्रियामा असर देखिएको छ ।
करिब १० करोड मतदाताले ‘अर्ली भोटिङ’ गरेका थिए । तर, निर्वाचन अधिकृतहरुलाई सो भोट गन्न समय लागिरहेको छ । यसो त राष्ट्रपतिको दोस्रो कार्यकालका प्रत्यासी रहेका ट्रम्प धाँधली भएको दावीसहित अदालत निर्णयमा पुगेका छन् । सोही अनुसार ट्रम्प पक्षधरले मतगणना रोक्नका लागि अदालतमा मुद्दा दायर गरेको छ र बाइडन पक्ष पनि कानूनी लडाइँका लागि तयार छ ।
अहिलेसम्म ट्रम्प वा जो बाइडेनको जीतको घोषणा गर्नका लागि पर्याप्त मतगणना पनि भइसकेको छैन । कोरोनाकै कारण चुनावमा हुलाकमार्फत खसालिएको मतको संख्या धेरै रहेको छ र जुन अन्य कुनै अवरोध नआएपछि गणनाका लागि केही दिन अझै लाग्न पनि सक्छ ।
अमेरिकी निर्वाचन प्रक्रिया निकै जटिल मानिन्छ । चुनाव पपुलर मत ल्याएर मात्रै पनि जितिँदैन भने हरेक राज्यमा जितका साथसाथै पार्टीले इलेक्टोरल भोट पनि जुटाउन जरुरी हुन्छ । ह्वाइट हाउस पुग्नका लागि ५० राज्यका ५३८ इलेक्टोरल कलेजका भोटमा २७० ल्याउनै पर्ने हुन्छ ।
हरेक चुनावमा पूर्ण नतिजा पहिले नै अमेरिकी प्रमुख अमेरिकी मिडियाहरुले एक उम्मेदवारलाई विजेता घोषित गर्छन् । तर यो फाइनल मतगणनाका आधारमा नभइ प्रक्षेपणको आधारमा हुन्छ ।
नेपालमा भन्दा अमेरिकामा बिल्कुल निर्वाचन प्रक्रिया फरक छ । यहाँ भोटिङ र काउन्टिङ एकै दिनमा सकिँदैन । अर्कोतर्फ नेपालमा पूरै मतगणना नभएसम्म नतिजा थाहा हुँदैन । तर अमेरिकामा औपचारिक घोषणा गर्न समय लाग्दछ । तर मिडिया आउटलेट्सको घोषणाले नै विजेताको स्पष्ट तस्बिर आउँछ ।
यो पटक नतिजा किन ढिला हुनु मात्रै कोरोनाभाइरसका कारण हो । ६८ प्रतिशत भोटर्सले अर्ली–भोटिङ गरे । अर्थात इलेक्सन डे भन्दा पहिले नै । अमेरिकाका केही राज्यमा इलेक्सन डे भन्दा पहिले नै मत खसाल्न पाइने व्यवस्था छ । यसमा नतदातालाई हुलाकमार्फत मतपत्र खसाल्ने अनुमति समेत छ ।
हुलाकमार्फत खसालिएको मत गन्न समय लाग्छ किनभने मतदाताको ठेगाना र हस्ताक्षर एकिन गर्न आवश्यक हुन्छ । काउन्टिङ मेसिनमा हाल्नु पहिले मतदान बाकसको आवश्यक चकजाँच समेत गर्नुपर्ने हुन्छ । यस्तै केही राज्यहरुले ३ नोभेम्बरअघि नै भेरिफिकेसन प्रक्रिया सुरु गरेका थिए । निर्वाचन समाप्त हुनभन्दा पहिल्यै मतगणना सुरु हुन सकोस् भनेर त्यसो गरिएको थियो । तर केही राज्यले यस्तो गरेनन् ।
ट्रम्पले पहिले देखि नै भन्दै आइरहेका छन् कि यदि आवश्यक पर्यो भने अदालत गएर पनि चुनाव जितिन्छ । उनको संकेत सन् २००० को चुनावतर्फ छ । त्यतिबेला डेमोक्रेटिक उम्मेदवार अल गोर फ्लोरिडामा ५३७ मतले हरेका थिए । यसबारे भएको विवाद अदालतसम्म पुगेपछि सर्वोच्च अदालतले जर्ज डब्लु बुसलाई विजेता घोषित गरेको थियो । सन् २०२० मा हुलाकमार्फत अत्यधिक मतदान भएकाले विवाद निम्तने सक्ने सम्भावनाहरु रहेको समाचारमा जनाइएको छ। र, घटनाक्रमले यस्तै रुप पनि लिँदै गएको देखिन्छ ।