
अमेरिकाको राष्ट्रपति निर्वाचनमा अब ६ वटा राज्यको मत गन्न मात्र बाँकी छ ।
अहिलेको स्थितिमा डेमोक्रेटिक पार्टीका जो बाइडन २६४ इलेक्टोरल भोटका साथ अघिअघि छन् भने ट्रम्प २१४ भोटका साथ पछि छन् । जित्नका लागि २७० भोट आवश्यक हुन्छ ।
जर्जिया राज्यमा ट्रम्प अगाडि छन् तर बाइडनले उनको अग्रतालाई साँघुरो बनाइरहेका छन् । अझै १५ हजार भोट गन्न बाँकी रहँदा ट्रम्प २ हजार भोटले मात्र अघि छन् ।
गन्न बाँकी रहेका भोटहरू हुलाकबाट आएका हुन् । एट्लान्टा र सवानाबाट आएका यी भोट बाइडनको पक्षमा गइरहेको देखिएको छ । भरेसम्ममा अन्तिम परिणाम आउन सक्छ ।
पेन्सिल्भेनियाको कुरा गर्दा त्यहाँ पनि ट्रम्प अगाडि छन् तर बाइडनले भोटसंख्या बढाइरहेका छन् । कुनै बेलामा दुईजनाको मतान्तर पाँच लाख थियो तर अहिले त्यो झरेर २६ हजारमा आएको छ ।
अझै ३ लाख जति भोट गन्न बाँकी नै छ । यी भोटहरू सन् २०१६ मा हिलारी क्लिन्टनले जितेका काउन्टीबाट आइरहेकाले बाइडनको पक्षमा जाने देखिएको छ ।
फिलाडेल्फिया क्षेत्रमा हुलाकमार्फत प्रापत भोटहरू गन्ने काम शुरू भएकाले बाइडनले ट्रम्पको अग्रतालाई घटाइरहेका हुन् । भरे अबेर रातिसम्म सबै भोट गनिसकिने अनुमान छ ।
उता एरिजोना राज्यको कुरा गर्दा बाइडनले अझै पनि ४६ हजार भोटको अग्रता लिइरहेका छन् तर ट्रम्पले पनि उनलाई कडा टक्कर दिइरहेका छन् ।
लगभग ४ लाख भोट अझै गन्न बाँकी रहेका छन् ।
अधिकांश भोट फिनिक्स क्षेत्रका हुन् । हुलाकबाट प्राप्त मत बाइडनलाई अनि व्यक्ति स्वयं उपस्थित भएर दिएको भोट ट्रम्पलाई गइरहेकाले अहिले नै विजेता घोषणा गर्न गाह्रो छ । तर एसोसिएटेड प्रेस र फक्स न्युजले अस्ति नै एरिजोनामा बाइडनलाई विजयी घोषणा गरिसकेका थिए ।
नेभाडा राज्यको कुरा गर्दा बाइडनले १२ हजार भोटको अग्रता लिइरहेका छन् । त्यहाँ अझै डेढ लाखभन्दा बढी भोट गन्न बाँकी रहेको बताइएको छ ।
लगभग ९० प्रतिशत त्यस्ता भोट क्लार्क काउन्टीबाट आउँदैछन् र तीमध्ये अधिकांश हुलाकबाट आएका भोट हुन् ।
बाइडनको झिनो अग्रता फराकिलो हुने सम्भावना छ । चुनावकै दिने मतदानका लागि दर्ता हुनेहरूको भोट गन्न बाँकी छ । ट्रम्पका समर्थकहरूले जोडतोडका साथ त्यही दिन भोट गरेको भए ट्रम्पलाई फाइदा हुन सक्छ । गाउँले भोटहरू पनि गन्न बाँकी छ तर तिनको संख्या थोरै छ ।
नर्थ क्यारोलाइनामा ९४ प्रतिशत मत गनिसक्दा ट्रम्पले बाइडनमाथि १.४ प्रतिशत मतको अग्रता लिएका छन् ।