
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को वर्ष सत्ता छोड्न सक्ने देखिएको छ । उनलाई पार्किन्सन्स लागेको हुन सक्ने बताइएको छ ।
द डेली मेल पत्रिकाले दिएको खबरअनुसार, उक्त रोगका कारण पुटिनले जनवरी महिनामा पदत्याग गर्न सक्छन् ।
उनकी प्रेमिका अलिना काबाएभाले उनलाई सेवानिवृत्त हुन प्रेरित गरेको बताइएको छ ।
केही समयअघि पुटिनको भिडियो सार्वजनिक भएको थियो जसमा उनी कुुर्सीको हात अडाउने ठाउँलाई च्याप्प समातेको र आँखीभौं उचालेको देखिन्थ्यो ।
उनीसँग भएको कपमा पेनकिलरहरू राखिएको विश्लेषकहरूले बताएका छन् ।
यसै साता रुसको संसदमा पुटिनलाई आजीवन सिनेटर बनाउनका लागि प्रस्तावित कानून पारित गर्न हतार गरिएको थियो ।
उक्त मस्यौदा कानून पुटिन आफैंले संसदमा प्रस्तुत गरेका थिए । त्यसले उनलाई आजीवन कानूनी उन्मुक्ति र राज्यका सेवासुविधा उललब्ध गराउनेछ ।
रुसको सरकारी टेलिभिजन आरटीले देशमा सत्ता हस्तान्तरणका लागि आधारभूमि तयार गरिँदै गरेको संकेत यसबाट पाइएको खबर दिएको छ ।
पुटिनलाई पार्किन्सन्स रोग लागेको भनी मानिसले यसअघि पनि थुप्रैपटक अनुमान गरिसकेका छन् । उनी अलिकति ढल्केर हिँड्ने कारण पनि पार्किन्सन्स नै भएको बताइएको छ ।
पुटिनका आलोचक भ्यालरी सोलोभेईका अनुसार, पुटिनकी प्रेमिका काबाएभाका साथै उनका दुई छोरीहरू मारिया र काटेरिनाले उनलाई पदत्याग गर्न सुझाव दिएका छन् ।
पुटिनले छिट्टै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने र आफ्नो स्थानमा राख्नका लागि दीक्षित गर्ने सोलोभेईको भनाइ छ ।