म्याग्दीका स्थानीय तहमा निर्मित अस्थायी कोरोना अस्पतालमा डाक्टरको अभाव भएको छ । ५ बेड क्षमताको अस्पतालका लागि मेडिकल अफिसर (डाक्टर) सहित स्वास्थ्यकर्मीको माग गर्दै स्थानीय तहले दरखास्त आह्वान गरे पनि नपाएका हुन् ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई ३ महिनाका लागि स्वास्थ्य सामग्री खरिद र जनशक्ति व्यवस्थापन गर्न १० लाख बजेट दिएको थियो । ‘गाउँपालिकामा कोभिड अस्थायी अस्पताल स्थापना भए पनि डाक्टर पाएका छैनौं,’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘एक/दुई जनासँग कुरा भए पनि तीन महिनामात्र भन्दै पन्छने गरेका छन् । प्राथमिक स्वास्थ्य चौकीमा स्तरवृद्धि भएकाले भविष्यमा पनि करारमा निरन्तरता दिन्छौं भनेका छौं । तर दरखास्त कसैको आएको छैन ।’
मंगलाले अर्मन हेल्थपोस्टको एक खण्डमा सेवा प्रभावित नहुने गरी २ वटा अक्सिजन सिलिन्डरसहित अस्पतालको पूर्वाधार तयार पारेको छ । कोरोना अस्पतालमा अहिले गाउँपालिकाले केही संक्रमितलाई राखेको छ । दुर्गम धौलागिरि गापाले ताकम स्वास्थ्य चौकीमा अस्थायी कोरोना अस्पताल बनाउन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार एक मेडिकल अफिसरसमेत तीन स्वास्थ्यकर्मीको दरखास्त माग गरिएको थियो ।
एक जना स्टाफ नर्सबाहेक अन्य आवेदन परेको छैन । मालिका गापाले दरबाङको छ्यारछ्यारे सामुदायिक भवनमा, रघुगंगा गापाले पिप्ले स्वास्थ्य चौकीमा र अन्नपूर्ण गापाले नारच्याङ बेंसीमा नेपाली सेनाले प्रयोग गरी छाडेको भवनमा अस्थायी कोरोना अस्पताल निर्माण गर्न प्रक्रिया थालेका छन् ।
‘हामीले नारच्याङ बेंसीमा अस्पताल बनाउन स्वास्थ्य सामग्री खरिद प्रक्रिया थालेका छौं । तर डाक्टर नै पाइएको छैन,’ अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले भने, ‘स्टाफ नर्स त सम्पर्कमा आए तर डाक्टर नआएकाले अन्योलमै छौं ।’ कान्तिपुर दैनिकमा घनश्याम खड्काले खबर लेखेका छन् ।