
बुटवल उपमहानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारका ९६ सटरको नयाँ टेन्डर खोल्ने क्रममा विवाद भएको छ ।
१७ वर्ष पहिले शेर्पा टी कम्पनीसँग भाडामा लिएर बसेका व्यवसायीले उपमहानगरको नयाँ टेन्डर खोल्ने क्रममा अवरोध गर्न खोजेपछि विवाद भएको हो ।
उपमहानगरपालिकाका अनुसार १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टीले सटर बनाउने र १५ वर्ष भाडामा लगाई १५ वर्षपछि स्थानीय तहमा स्वामित्व जाने गरी तत्कालीन नगरपालिकाले सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष पहिले म्याद समाप्त भएकोमा व्यवसायीको माग अनुसार २ वर्ष म्याद थपिएको थियो ।
कात्तिक ३० गते म्याद सकिनुअघि उपमहानगरले ३० दिने सूचना प्रकाशित गर्दै टेन्डर आह्वान गरेकोमा सोमवार टेन्डर खोल्ने कार्यक्रम रहेको थियो ।
१२ बजेसम्मको समय निर्धारण गरे पनि त्यसपछि पनि टेन्डर दर्ता गरिएको भन्दै व्यवसायीहरू उपमहानगर घेराउ गर्न पुगेका थिए । उनीहरूले घेराउका क्रममा उपमहानगरको कार्यालय परिसरमा प्रवेश गर्न खोजेपछि पटक–पटक झडप भएको थियो ।
व्यवसायीले उपमहानगरले चलखेल गरेर आफूहरूलाई हटाउन खोजेको आरोप लगाएका छन् भने उपमहानगरले १२ बजेपछि दर्ता नगरिएको बताएको छ ।