
विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको खोपको प्रभावकारितामा थप आशा पलाएको छ । जर्मन कम्पनी बायोएनटेकले आफूले विकास गरेको भ्याक्सिनको तेस्रो चरणको परीक्षणको प्रभावकारिता ९० प्रतिशतसम्म रहेको सोमबार जानकारी दिएको छ । बायोएनटेकले अर्को अमेरिकी कम्पनी फिजरसँग मिलेर उत्पादन गरेको खोपको परीक्षण ९० प्रतिशतसम्मको प्रभावकारितासहितको उत्साहजनक नतिजा देखिएको बताएसँगै विश्वभर नयाँ आशा पलाएको छ ।
विश्वभर कोरोनाकै कारण ५ करोड ८ लाख ८३ हजार बढी संक्रमित भइसकेका छन् भने १२ लाख ६४ हजार बढीको मृत्यु भएको छ । भ्याक्सिनको विकास नभएसम्म कोरोनाको रोकथाम हुन नसक्ने अवस्थामा विश्व समूदाय पुगेको अवस्थामा सोमबार सार्वजनिक नतिजालाई लिएर नयाँ आशा र उत्साह पलाएको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भ्याक्सिनको परीक्षण ठूलो जनसंख्यामा गरिएको थियो अर्थात कम्पनीले निर्माण गरेको खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण भएको थियो । सो परीक्षणमा कुनै पनि प्रकारको साइड इफेक्ट देखिएको छैन ।
हाल विश्वभर कोरोनाविरुद्धको दर्जनौ भ्याक्सिन बनेका छन् भने परीक्षणकै क्रममा रहेका ती सबै भ्याक्सिन मध्ये यो भ्याक्सिन प्रभावकारी देखिएको हो ।
फिजरका अध्यक्ष डा अल्बर्ट बोलालले विज्ञान र मानवताका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड विरुद्धको लडाइँमा थप उत्साह पलाएको प्रतिक्रिया दिए ।
बीबीसाका अनुसार कम्पनीले यसै नोभेम्बरको अन्त्यसम्ममा आकस्मिक स्वीकृतिका लागि आवेदन दिने योजना बनाएको छ ।