०६ असार २०८३, शनिबार

कार्यकालको योजना बनाउँदै बाइडेन

कात्तिक २५, २०७७
कार्यकालको योजना बनाउँदै बाइडेन

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीसँग जुध्ने विषयलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपति बनेका बाइडेनले आगामी जनवरी २० मा कार्यभार सम्हाल्नेछन् ।

उनको टोलीका अनुसार अमेरिकामा भाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणलाई मास्क लगाउन भनिनेछ । बाइडनले जातीय विभेद र जलवायु परिवर्तनजस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरेका छैनन् । अमेरिकी सञ्चारमाध्यमले बाइडेनको नेतृत्वमा अमेरिकाले पेरिस जलवायु सम्झौता पुनः स्वीकार गर्ने जनाएका छन् । त्यस्तै अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय पनि बाइडेनले बदर गर्ने जनाइएको छ । ट्रम्प प्रशासनले सातवटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि बाइडेनले अन्त्य गर्न सक्ने जनाइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन् ।

राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणका क्रममा बाइडेनले यो ‘निको हुने समय’ भएको बताएका थिए । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका बाइडेनले देशलाई ‘विभाजित हैन एकताबद्ध पार्ने’ प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । सम्बोधनका क्रममा उनले जनताले आफूमाथि विश्वास गर्दै स्पष्ट जनादेश दिएको भन्दै कृतज्ञता प्रकट गरेका थिए ।

‘अमेरिकी मतदाताले मप्रति देखाउनुभएको विश्वासबाट कृतज्ञ छु,’ उनले भनेका थिए । आफूले अमेरिकामा विभाजन नभई एकता चाहेको बाइडेनको भनाइ छ । अमेरिकी संविधानअनुसार नयाँ राष्ट्रपतिको कार्यकाल जनवरी २० को मध्याह्नदेखि सुरु हुन्छ । राजधानी वासिङ्टन डीसीमा आयोजना गरिने शपथ ग्रहण समारोहमार्फत यो कार्यकाल प्रारम्भ हुने गर्छ । नयाँ राष्ट्रपति तथा उपराष्ट्रपतिले सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ गर्ने प्रावधान छ । त्यसैले जो बाइडेन र कमला ह्यारिसले जनवरी २० मा शपथ लिनेछन् ।

संविधानमा उल्लेखित यो समयतालिका अपवादका समयमा भने फेरबदल हुन सक्छ । उदाहरणका लागि कार्यकालकै दौरान यदि कुनै राष्ट्रपतिको निधन भएमा वा राजीनामा गरेमा सकेसम्म छिटो उपराष्ट्रपतिलाई शपथ गराइन्छ । चुनावी परिणामा आइसकेको र नयाँ राष्ट्रपतिले शपथ नलिइसकेको अवस्था संक्रमणकालीन समय हो । नवनिर्वाचित राष्ट्रपतिले आफ्नो एक समूह गठन गर्छन्, जसलाई संक्रमण टोली भनिन्छ । यस्तो टोलीले आगामी प्रशासनका वरिष्ठ अधिकारीहरूको चयन गर्छ र कार्यकालमा गरिने कामहरूको प्राथमिकता तोक्ने गर्छ । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्