०९ असार २०८३, मंगलबार

संक्रमितमध्ये ४० प्रतिशत महिला

कात्तिक २५, २०७७
संक्रमितमध्ये ४० प्रतिशत महिला

पछिल्लो समयमा कोभिड–१९ संक्रमण दर महिलामा बढेको छ । हाल दिनहुँ देखिने संक्रमितमध्ये करिब ४० प्रतिशत महिला हुने गरेका छन् ।

मुलुकभर सोमबार २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएकामा ४०.८७ प्रतिशत महिला छन् । कोभिडको पहिलो संक्रमण देखिएयताका संक्रमितमध्ये ३३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ८६ महिला छन् । हालसम्म मुलुकभर १ लाख ९७ हजार २४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

गत वर्ष माघ ९ गते चीनबाट फर्किएका नेपाली विद्यार्थीमा पहिलोपटक कोभिड–१९ संक्रमण देखिएको थियो । त्यसको करिब दुई महिनापछि फ्रान्सबाट आएकी नेपाली किशोरीमा संक्रमण देखिएको थियो । गत असार ५ गतेसम्म कुल संक्रमितमध्ये महिला ९ प्रतिशत मात्र थिए । विज्ञहरूका अनुसार समुदायमै संक्रमण गएकाले पछिल्ला दिन महिलामा संक्रमण बढी देखिएको हो । ‘महिलामा संक्रमण बढ्नु समुदायमा संक्रमण गएको संकेत हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘सुरुका दिनमा बाहिरबाट आएका व्यक्तिमा बढी संक्रमण देखिएको थियो ।’

स्थानीय रूपमा ठाउँ विशेषमा फाट्टफुट्ट संक्रमण बढ्दै जाँदा घरबाहिर निस्किने वर्गमा कोभिड संक्रमण बढी देखिन थाल्यो । हाल समाजको संरचना र देशको जनसंख्याको अनुपातअनुसार सबै वर्गमा संक्रमण देखिएको डा. अधिकारीले बताए ।

बालबालिका, युवा, बूढापाकालगायत परिवारजनको स्याहारसुसार, रेखदेखमा सबैभन्दा बढी संलग्न भएका महिलामा संक्रमण देखिएकाले जोखिम वृद्धि भएको स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले बताए ।

सरकारले पहिले समुदायमा बूढापाका, रोग प्रतिरोधक क्षमता कम भएका र कोभिड–१९ को उच्च जोखिममा रहेकालाई जोगाउन घरबाहिर अत्यावश्यक नभएसम्म ननिस्कन र निस्किनै परे स्वास्थ्य सुरक्षा उपाय अपनाउन आग्रह गरेको थियो । कोभिड–१९ को उच्च जोखिममा रहेकालाई जोगाउन घरभित्र समेत भौतिक दूरी र निरन्तर हातको सफाइ जरुरी भइसकेको डा. अधिकारीले बताए ।

विज्ञहरूका अनुसार घरमै रहेका बूढापाकामा कोभिड संक्रमण भएपछि एक्कासि अक्सिजन कम भएर मृत्यु भइरहेको छ तर घरमा मृत्यु भएपछि कोभिड परीक्षण नगर्ने सरकारको प्रोटोकल हुनाले मृत्युको कारण थाहा हुने गर्दैन । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्