नेपाल क्लियरिङ हाउस कम्पनी लिमिटेडले कनेक्ट आईपीएसमा नयाँ सुविधा थप गरेको छ । प्रयोगकर्ताले अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफिकेसन गर्न सक्ने भएका छन् ।
कोरोना महामारीलाई ध्यानमा राख्दै कम्पनीले कनेक्ट आईपीएसलाई आधुनीकीकरण गरेको हो ।
कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि नै विभिन्न किसिमका लकडाउन तथा निशेधाज्ञा लगाउँदै आएको थियो । यस्तै बैंकहरूमा पनि सेवाग्राहीको बाक्लो भीड हुने गरेको थियो ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कम्पनीले घरमै बसीबसी आफ्नो आईडीको आफैं भेरिफिकेशन गर्न मिल्ने सुविधा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले हालसम्म १७ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग सेवाग्राहीलाई कनेक्ट गर्न सेल्फ भेरिफिकेशन सेवा लयाएको छ । यसलाई विस्तारै थप्दै जाने कम्पनीको भनाइ छ ।
कनेक्ट आईपीएस हालसम्म ५५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग आवद्ध भइसकेको छ ।
यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।