काठमाडौँ, ३० बैशाख- आइतबार स्थानीय तहका लागि जनप्रतिनिधि छान्ने निर्वाचन हुँदैछ । मतदाताको गोप्य मतबाट बढी मत ल्याएर पहिलो हुने उम्मेदवार विजयी हुनेछन् । संविधान र कानुनले मतदानलाई गोप्य राख्नुपर्ने प्रावधान राखेको छ । यसैले मतदाता स्वयंले चाहेमा पनि आफूले मत दिइसकेको मतपत्रलाई सार्वजनिक गर्न पाइदैन । कुनै मतदाताले मतपत्रमा आफूले राजेको उम्मेदवारको चिन्हमा स्वस्तिक चिन्ह लगाएपछि त्यसलाई सार्वजनिक गरे त्यो दण्डनीय मानिएको छ । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरीवाना गर्न सक्नेछ । त्यतिमात्र होइन सार्वजनिक गरिएको त्यस्तो मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिने छ । र, त्यो गणनामा समावेश गरिने छैन, कान्तिपुरमा खबर छ ।

निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मतदानको दिन मतदातालाई पनि आचारसंहिता लाग्ने बताए । ‘नागरिक अधिकार प्रयोग गर्न पाउँदा मतदाताले आफू निष्पक्ष भई मतदानको गोप्यता कायम गर्नसक्नुपर्छ,’ उनले भने ‘गोप्य मतदान गर्न पाउनु मतदाताको संवैधानिक अधिकार हो । कसलाई मत संकेत गरेको हो, त्यो गोपनीय राख्नुपर्छ । कसैलाई देखाउन पाइन्न ।’ उनले मतदान केन्द्रमा मोबाइल समेत लान नपाइने बताए । ‘मत संकेत गरेको तस्विर खिच्न वा सार्वजनिक गर्न दण्डनीय हुन्छ,’ उनले भने, ‘मतदाता आफ्नो कर्तव्य र अरुको अधिकारप्रति सचेत भई कसैको कर काप, डर वा प्रलोभनमा परी मतदान गर्नु हुन्न ।’