१२ असार २०८३, शुक्रबार

बिहारको निर्वाचनमा सुध्रियो कम्युनिस्ट पार्टीको प्रदर्शन

कात्तिक २६, २०७७
बिहारको निर्वाचनमा सुध्रियो कम्युनिस्ट पार्टीको प्रदर्शन

भारतको बिहार प्रदेशमा सम्पन्न विधानसभा निर्वाचन परिणाम अनुसार कम्युनिस्ट पार्टीको प्रदर्शनमा सुधार देखिएको छ ।

सन् २०१५ को निर्वाचनमा ३ सिटमा सीमित रहेका कम्युनिस्ट पार्टीले यसपालि १६ सिट जितेका छन् । २०१५ मा सीपीआई (मार्क्सवादी लेलिनवादी) ले मात्रै ३ सिट जितेको थियो ।

यसपालि कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई) ले २ सिट, सीपीआई (मार्क्सवादी) ले २ सिट, सीपीआई (मार्क्सवादी लेलिनवादी) ले १२ सिट जितेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको बिहार प्रदेशमा भएको विधानसभा निर्वाचनमा मुख्यमन्त्री नितिश कुमार नेतृत्वको एनडीए गठबन्धनले बहुमत हात पारेको छ । मंगलवार अबेर राति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सत्तारुढ एनडीए गठबन्धनले १२५ सिट जितेको छ । सरकार बनाउन १२२ सिट मात्रै आवश्यक पर्छ । बिहारमा २४३ विधानसभा सिटमा निर्वाचन भएको थियो ।

निर्वाचनमा विपक्षी नेता तेजस्बी यादव नेतृत्वको महागठबन्धन ११० सिटमै सीमित भयो । यादवको दल राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ पहिलो पार्टी बनेपनि सरकार बनाउन बहुमत ल्याउन सकेन । 

प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) ७४ सिटका साथ दोस्रो पार्टी बनेको छ । सन् २०१५ को निर्वाचनमा ५३ सिट मात्रै ल्याएको बीजेपी यसपालि चम्किएको छ । एनडीए गठबन्धनका नेतृत्वकर्ता नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयू) भने ४३ सिटमै सीमित भएको छ । २०१५ को निर्वाचनमा जेडीयूले ७१ सिट जितेको थियो । निर्वाचनमा भारतीय कांग्रेसले १९ सिट जितेको छ ।

एनडीए गठबन्धनबाट नितिश कुमार मुख्यमन्त्रीको रूपमा प्रचार गरिएकाले उनी सातौं पटक पुनः मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नितिश लामो समयदेखि बिहारको सत्ता सम्हाल्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्